रणनीतिक साझेदार भित्र्र्याउने प्रस्तावसहित महालक्ष्मी विकास बैंकले डाक्यो साधारणसभा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले २१ औँ वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारका रुपमा भित्र्याउने तथा विदेशी बैंक वा अन्य उपयुक्त संस्थालाई बैंकको सेयर बिक्री वा हस्तान्तरण गर्ने प्रस्तावसहित बैंकले साधारणसभा आव्हान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित चुक्ता पुँजीको कुल १०.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । सो लाभांशमा ४ प्रतिशत बोनस सेयर र बाँकी ६.४७ प्रतिशत नगद लाभांश (करसहित) छन् ।

बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

बैंकले रणनीतिक साझेदार भित्र्याउनको लागि प्रबन्धपत्रको दफा ७ (झ)लाई संशोधन गर्ने र उक्त संशोधन भएपछि रणनीतिक साझेदार ल्याउनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको कार्यान्वयन गर्न गराउन बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

बैंक सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ पुस १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स