लगातार दोस्रो वर्ष पनि एनआईसी एशिया बैंकले लाभांश नबाड्ने, सेयरधनीको हात खाली

यस्तो छ कारण लाभांश बाड्न नपाउने

काठमाडौं । एनआईसी एशिया बैंकले लगातार दोस्रो वर्ष पनि सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही अनुसार बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरेको छ । बैंकले गत आर्थिक वर्ष पनि लाभांश वितरण गरेको थिएन।

बैंकको पुँजी कोष टाइट भएका कारण दोस्रो वर्षपनि लाभांश बाड्न नसकेको हो । पुँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार प्राथमिक पुँजीको ८.५ प्रतिशत र पुरक पुँजी गरेर न्यूनतम ११ प्रतिशत पुँजीकोष पुग्नुपर्ने हुन्छ । एनआईसी एशिया बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशतमात्रै छ । कुल पुँजीकोष अनुपात भने १३.५१ प्रतिशत भएपनि प्राथमिक पुँजीकोष अनुपात राष्ट्र बैंकले निर्धारण गरेको भन्दा कम छ ।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार आर्थिक वर्षको कुनै एक त्रैमासमा प्राथमिक पुँजीकोषको अनुपात ८.५ प्रतिशतभनदा कम भएमा कुनै पनि बैंकले लाभांश वितरण गर्न नपाउने व्यवस्था छ । एनआईसी एशिया बैंकले गत आवको पहिलो र दोस्रो त्रैमासमा प्राथमिक पुँजीकोष अनुपात ८.५ प्रतिशत कायम गर्न सकेको थिएन । गत आवको पहिलो त्रैमासमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ७.३० प्रतिशत र दोस्रो त्रैमासमा ७.८० प्रतिशत कायम रहेको थियो भने २०७८ असार अन्त्यमा बैंकको यस्तो अनुपात ७.५१ प्रतिशत कायम भएको थियो ।

बैंकले गत आवको तेस्रो त्रैमासमा आएरमात्रै पुँजीकोष अनुपात पुर्याएको थियो । गत चैतमसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.५४ प्रतिशत कायम रहेको थियो भने पछिल्लो त्रैमासमा कर्जा नै विस्तार नगरेका कारण राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिक पुँजीकोष कायम रहेको हो ।

यद्यपि बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्न तथा लगानीकर्तालाई लाभांश दिन अझ १ वषृ कुर्नपर्ने हुन्छ । एनआईसी एशिया बैंकले चालु आवको चारै वटा त्रैमासमा तोकिएको कुल पुँजीकोष र प्राथमिक पुँजीकोष कायम गरेमात्रै रोकिएको आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न पाउने हो ।

जबकि राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार प्राथमिक पुँजी कोषको अनुपात ८.५ प्रतिशत हुनुपर्ने छ । नगद लाभांश बाँड्नका लागि न्यूनतम पुँजीकोष अनुपात १२ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

एनआईसी एशिया बैंकको २०७८ असार मसान्तको कुल पुँजीको १२.४१ प्रतिशत थियो भने प्राथमिक पुँजीकोष अनुपात ७.५१ प्रतिशतमात्रै रहेको थियो । साढे ८ प्रतिशत प्राथमिक पुँजीकोष नपुगेका कारण गत आर्थिक वर्षमा पनि एनआईसी एशिया बैंकले लाभांश बाड्न पाएको थिएन । यदि एनआईसी एशिया बैंकले यसरी नै व्यवसाय विस्तार गर्दै जाने हो भने चालु आर्थिक वर्षको मुनाफाबाट पनि सेयरधनीलाई लाभांश बाड्न नसक्ने पक्का भएको छ ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार प्राथमिक पुँजी कोषभित्र न्यूनतम साझा इक्विटी ४.५ प्रतिशत, पुँजी संरक्षण बफर २.५ प्रतिशत हुनुपर्नेछ । न्यूनतम साझा (टायर १) पुँजी अनुपात पुँजी संरक्षण बफर बाहेक ६ प्रतिशत र बफरसहित ८.५ प्रतिशत हुनुपर्छ । जसलाई प्राथमिक पुँजीकोष अनुपात पनि भन्ने गरिन्छ ।

एनआईसी एसिया बैंकले प्राथमिक पुँजीकोष अन्तर्गतको पुँजी संरक्षण बफर अघिल्लो वर्ष पूरा गर्न नसक्दा लाभांश वितरण गर्न रोक लगाइएको थियो भने सोही कारण गत आर्थिक वर्षको नाफाबाट पनि लाभांश दिन नपाउने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स