काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको केन्द्रीय सदस्य एवं प्रतिनिधि सदस्य सोविता गौतमले जानकारी दिइन् ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । सो प्रयोजनका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्न लागेका छन् ।