म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा नौ करोड बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ ।
नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट नौ करोड एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताए ।
‘ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्’, उनले भने, ‘तीनवटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं ।’
नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुंगेबाट वडा नं ९ को सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौंले ६६ लाख ९३ हजार तीन सय ९१ मा ठेक्का पाएको छ ।
एक करोड २१ लाख लागत अनुमान गरिएको अर्थुंगे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगंगा निर्माण सेवा बेनीले ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले ५० लाख, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख र समपूरक कोषबाट ४६ लाख विनियोजन गरेको थियो । यो योजनामार्फत वडा नं ६ को बाँसबोटसम्म तीन–तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ ।
७० लाख लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले ५८ लाखमा ठेक्का लिएको छ । वडा नं ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो । २५ लाख विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले २० लाख ५० हजारमा ठेक्का लिएको छ ।
२३ लाख ३० हजार विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।
५० लाख विनियोजन भएको बेनी मिनी रंगशाला योजना निर्माणका लागि ३५ लाख ९३ हजारमा ठेक्का लिएको उत्तरगंगा निर्माण सेवाले पर्खाल र प्यारापिट निर्माण सुरु गरेको छ । नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने योजनाको ठेक्का पाएको शंकर निर्माण सेवाले पनि काम तीव्ररूपमा गरिरहेको छ ।
७३ लाख बजेट विनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना ५२ लाख ५८ हजार दुई सयमा ठेक्का सम्झौता भएको थियो । संघीय सरकारको एक–एक करोड अनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाँडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ । विशेष अनुदानबाट ४९ लाख ३० हजार प्राप्त खबरा खानेपानी योजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आह्वान भएको छ ।
संघीय सरकारको ७० लाख, प्रदेश सरकारको ५० लाख अनुदान र नगरपालिकाले ७० लाख विनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । बेनी नगरपालिका–४ सिंगामा तीन सय मेट्रिक टन क्षमताको फलफूल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगरप्रमुख सुरत केसीले बताए । १५ लाखसम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले बताए ।