काठमाडौं । पछिल्लो समय कर्जा प्रवाहमा वाणिज्य बैंक जस्तै विकास बैंक पनि आक्रामक बन्दै गएका छन् । देशमा सञ्चालित विकास बैंकहरूले अहिलेसम्म ४ खर्ब ३६ अर्ब २३ करोड ५७ लाख कर्जा प्रवाह गरेका छन् ।
भदौ १९ गतेदेखि २५ गतेसम्म विकास बैंकहरूले ३ अर्ब १४ करोड ९९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले यो अवधिमा गरेको कर्जा प्रवाह ०.७३ प्रतिशतले बढी भएको विकास बैंक संघको तथ्यांकले देखाएको छ ।
राष्ट्रियस्तरका विकास बैकहरूले यो अवधिमा २ अर्ब ८९ करोड १६ लाख रुपैयाँले कर्जा वृद्धि गरेका छन् । कर्जा बढेसँगै राष्ट्रियस्तरका विकास बैंकको कर्जा बढेर ३ खर्ब ६८ अर्ब ८० करोड ५० लाख पुगेको छ ।
भदौ १९ गतेदेखि २५ गतेसम्ममा क्षेत्रीयस्तरका विकास बैंकहरुको २५ करोड ८२ लाखले कर्जा बढाएका छन् । योसँगै क्षेत्रीयस्तरको विकास बैंकहरूको कर्जा प्रवाह बढेर ६७ अर्ब ४३ करोड पुगेको छ ।
निक्षेपमा भने सामान्य वृद्धि
वाणिज्य बैंकहरूले जस्तै विकास बैंकले पनि निक्षेप संकलनमा खासै वृद्धि गर्न सकेका छैनन् । विकास बैंकहरूले भदौ १९ देखि २५ गतेसम्मको यो अवधिमा जम्मा ७३ करोड १४ लाख रुपैयाँलेमात्रै निक्षेप संकलन गरेका छन् ।
१५ वटा विकास बैंकले यो अवधिमा गरेको निक्षेप संकलन अघिल्लो साताको भन्दा ०.१५ प्रतिशतले बढी हो । हालसम्म विकास बैंकहरूले कुल ४ खर्ब ८९ अर्ब २८ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेको संघको तथ्यांकमा उल्लेख गरिएको छ ।