के गर्दैछन् मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेका १० वाणिज्य बैंक ?

काठमाडौं। राष्ट्र बैंकले ‘बिग मर्जर’ लाई प्राथमिकतामा राखेर कमजोर प्रस्तुती देखिएका वाणिज्य बैंकलाई मर्जर तथा एक्विजिशनमा जान दवाव दिएपछि अहिले मर्जर प्रक्रिया १० वटा वाणिज्य बैंक रहेका छन् । कुमारी बैंक र एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डू तथा हिमालयन बैंक र सिभिल बैंक मर्जर प्रक्रियामा छन् ।

मर्जर तथा एक्विजिशन प्रक्रियामा रहेका यी बैंकहरूले सकेसम्म पुसमसान्तसम्म एकीकृत कारोबार गरिसक्ने गरी आफ्नो मर्जर तथा एक्विजिशन प्रक्रिया अघि बढाएका छन् ।

मर्जर प्रक्रियामा रहेका कुमारी र एनसीसी बैंकले पुस १७ गतेभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी गरेका छन् । सोहि प्रयोजनको लागि दुबै बैंकले यहि मंसिर २५ गते विशेष साधारणसभा पनि बोलाइ सकेका छन् । १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति गरेका यी दुई बैंकले पुस १७ गते अर्थात जनवरी १ मा एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् । दुबै बैंकको डीडीए रिपोर्ट तयार भइसकेको छ ।

यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकबीचको मर्जर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । गत मंगलबार दुुवै बैंक सञ्चालक समितिको बैठकले मर्जर प्रक्रियाका क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरिसकेका छन् । पुस महिनाभित्र एकीकृत कारोबार गर्ने गरी यी दुई बैंकले पुुस ७ गते वार्षिक साधारणसभा डाकेका छन् ।

मर्जर प्रक्रियामा रहेका अर्का दुई बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)को पनि पुुसभित्रै एकीकृत कारोबार गर्नेगरी काम अघि बढेको छ । ग्लोबल आइएमई र बीओकेले पनि यही मंसिर २३ गते एकैदिन वार्षिक साधारणसभा गर्ने भएका छन् ।

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने भएको छ । वार्षिक साधारणसभापछि बैंकले विशेष साधारणसभा बोलाएर मर्जर गर्न सहमति लिनेछ । उक्त बैठकले दुई बैंकको एकीकृत काराबारको मिति तय गर्नेछ ।

एक्विजिशन प्रक्रियामा रहेका प्रभु बैंक, सेञ्चुरी कमर्शियल बैंकले पनि जतिसक्दो छिटो एकीकृत कारोबार गर्ने गरी कार्य सम्पादन अघि बढाएका छन् । प्रभु बैंकसँग एक्विजिशन प्रक्रियामा जान सम्झौता गरेको सेन्चुरी बैंकको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएर आएको छ । सोहि अनुसार बैंकले अस्ति बुधबार लाभांश पनि घोषणा गरिसकेको छ । अब बैंकले साधारणसभा डाक्ने छ । त्यसपछि विशेष साधारणसभा मार्फत सेन्चुरी बैंक प्रभु बैंकमा समाहित भए बमोजिम एकीकृत कारोबार पुसमसान्तभित्रै सुरु गर्ने तयारी बैंकले गरेको छ ।

हिमालयन बैंक र सिभिल बैंकले हालसम्म साधारणसधा बोलाएका छैनन् । यी दुबै बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकले स्वीकृत नगर्दा उनीहरूले साधारणसभा बोलाउन सकिरहेका छैनन् । यद्यपि यी बैंकले पनि पुसभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन् ।

मर्जर तथा एक्विजिशनमा जाँदा के पाउँछन् सुविधा

नेपाल राष्ट्र बैंकले चालुु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरू आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न खालका सुुुविधा दिने व्यवस्था गरेको छ ।

आउँदो पुसभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यकाबाहेकका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न स्वीकृति लिनु नपर्ने, दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरू आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनः नियुक्त हुन बाधा नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसबाहेक मर्जर तथा एक्विजेशनमा जाने संस्थाले सेयरधनीलाई वितरण गर्ने लाभांशमा कर नलाग्ने व्यवस्था गरेको छ ।
लगानीकर्ताले आफ्नो सेयर गाभिएको २ वर्षभित्र बिक्री गर्दा लाभकर लाग्ने छैन । अहिले १ वर्षभित्र सेयर बिक्रीमा ५ प्रतिशत तथा एक वर्षभन्दा बढीमा बिक्रीगर्दा साढे ७ प्रतिशत पुँजीगत लाभकर दिनुपर्छ ।

मर्जर भएका निकायमा वा गाभिए पश्चातको निकायमा कार्यरत कर्मचारीहरूलाई सामूहिक रूपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ट भुक्तानीमा कर कट्टी गर्नुपर्ने दरमा ५० प्रतिशत छुट दिइएको छ ।

नेपाल राष्ट्र बैंकले तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु नपर्ने तथा एकीकृत कारोबारको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा ०.५ प्रतिशत बिन्दुले र वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट हुने व्यवस्था दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स