काठमाडौंको नागार्जुनमै गाई र भैंसीपालनबाट मासिक १० लाख आम्दानी

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेको छ रामकोटका भैंसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने ।

नागार्जुन नगरपालिका-६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका-७ खहरेका लामिछानेले गाई र भैंसीपालन गरेर मासिक १० लाख आम्दानी गर्दै आएको हो ।

पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैंसीपालन गर्दै आएका छन् । लामिछानेले १५ करोड लगानीमा सुरुको समयमा ३० भैंसीबाट आफ्नो व्यवसाय सुरुआत गरेको हो । अहिले उनको गोठमा एक सय ५० भैंसी र ७० गाई छन् । बीचको समयमा उनले तीन सयसम्म भैंसीपालन गरे पनि अहिले धेरै भैंसी बिक्रीवितरण गरेर गाईसमेत पालन सुरु गरेको छ ।

विसं २०७२ देखि सिभिल इन्जिनियर पेसा अँगालेका लामिछानेकी श्रीमती संगीता पनि इन्जिनियर नै हुन् । ‘सुरुमा म इन्जिनियर भएका कारण कन्स्ट्रक्सनको काम मात्र गर्थें, विगत तीन वर्षदेखि इन्जिनियर पेसासँगै भैंसी र गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ’, लामिछानेले भने ।

उनको गोठबाट हाल दैनिक एक हजार लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूधमध्ये पाँच सय लिटर काठमाडौंका विभिन्न दूध डेरीमा पठाउने र बाँकी पाँच सय लिटर दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले सुनाए ।

लामिछानेका अनुसार हाल भैंसीको दूधको मूल्य प्रतिलिटर एक सय ५० र गाईको दूधको मूल्य प्रतिलिटर एक सय १० रहेको छ । उनको फार्ममा हाल २० कर्मचारी कार्यरत छन् । दूध बिक्रीबाट मासिक ३० देखि ३५ लाख आम्दानी हुँदै आए पनि खर्च कटाएर १० लाख बचत हुने गरेको उनले बताए । गाई र भैंसीलाई उनीहरुले पराल र दाना खुवाउँदै आएका छन् । गाई र भैंसीको मलसमेत उनले बिक्री गर्छन् ।

लामिछानेले काठमाडौंमा गाईपालन र भैंसीपालनबाट राम्रो आम्दानी गर्न थालेपछि गृहजिल्ला गोरखामा समेत उक्त फार्मको शाखा विस्तार गरेका छन् । उनले गोरखाको सिरानचोक-७ खहरेमा ५० भैंसी र ५० बाख्रापालन गरेका छन् ।

यस्तै सोही ठाउँमा दुई सय रोपनी क्षेत्रफलमा तरकारी खेतीसमेत गरिएको छ । गोरखामा भने चारजनालाई रोजगारी दिएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स