मर्जर प्रक्रियालाई सहजीकरण गर्न एनसीसी बैंकबाट लिए १३ जना उच्च व्यवस्थापकले स्वेच्छिक अवकास, के के पाए सुविधा ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबाट १३ जना उच्च व्यवस्थापकले स्वेच्छिक अवकाश योजना (भीआरएस) लिएका छन् । कुमारी बैंकसँग मर्जरमा जाने भएपछि बैंक उच्च व्यवस्थापकले बैंकले ल्याएको योजनामा सामेल भई स्वेच्छिक अवकास लिएका हुन् ।  बैंकले हिजो सोमबार स्वेच्छिक अवकास लिने उच्च व्यवस्थापकलाई विदाई गरेको छ ।

कुमारीसँग मर्जर जाने भएपछि दुई बैंकबीच कर्मचारीको व्यवस्थापन मिलाउन भीआरएस ल्याएको हो । उक्त योजनामा एनसीसी बैंकका डेपुटी सीईओदेखि असिष्टेन्ट म्यानेजरसम्मले अवकास लिएका छन् ।

एनसीसी बैंकका तीन जना डेपुटी प्रमुख कार्यकारी अधिकृतहरू बन्दना पाठक, रेवन्तकुमार दाहाल र सन्दीप प्रसाद पाण्डेले स्वेच्छिक अवकाश रोजेका छन् भने नायब महाप्रबन्धक विनोदकुमार शर्माले पनि सोही योजनाअन्तर्गत अवकाश लिएका छन् । उनीहरु २८ महिनाको तलब लिएर बिदा भएका छन् ।

वरिष्ठ प्रबन्धक नगेन्द्रप्रसाद तिमली, व्यवस्थापक (म्यानेजर) युरेशमान कायस्थ, विनयप्रसाद अधिकारी, सरिना पाण्डे र अमिता श्रेष्ठले पनि अवकाश रोजेका छन् ।

डेपुटी म्यानेजर प्रितमकुमार दास श्रेष्ठ, अनिल पराजुली, मीनराजजंग शाहले पनि अवकाश लिएका छन्। एसिस्टेन्ट म्यानेजर दुर्गाप्रसाद पाण्डेले पनि अवकाश रोजेका छन्। उनीहरुलाई कुल ४२ महिनाको तलब सुविधा दिइएको छ ।

दुवै बैकले मंसिर २५ गते विशेष साधारणसभा डाकेका छन्। दुवैले अन्तिम स्वीकृति चाँडै पाएमा पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने योजना बनाएका छन्।

कार्तिक १८ सोमबारसम्म भीआरएस सुविधाको लागि आवेदन दिन पाउने गरि ल्याइएको उक्त योजनामा बैंकका एजुकेटिभ लेभलदेखि सहायक प्रवन्धक लेभलसम्मका १८ जना कर्मचारीले बैंकले सुविधा लिन आवेदन दिएका थिए । तर, ५ जनाको अवकास भने स्वीकृत भएन । तिहारअघि बैंकले सो योजना ल्याएको हो ।

भीआरएसका लागि आवेदन दिने कर्मचारीले बाँकी सेवा अवधि र पदको आधारमा १८ देखि ३० महिनासम्मको तलव भत्ता सुविधा पाएका छन् भने १२ महिना बराबरको तलव वा गाडीको मूल्यमध्ये जुन कम हुन्छ त्यहि सुविधा लिएर बैंक सिनियर म्यानेजमेन्टसम्मको टिमले अवकास योजनामा सामेल भएको हो ।

मर्जर प्रक्रिया सुरु भएपछि बैंकले सहायक प्रबन्धकदेखि माथिका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याएको थियो। उक्त योजनाका सुविधा लिँदै १३ जनाले एनसीसी बैंक छाडेका हुन् । उनीहरुले करिब ९ करोड रुपैयाँ बुझेका छन् ।

एनसीसी बैंक र कुमारी बैंकले आगामी पुस १७ गते वा जनवरी १ बाट एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन् । कुमारी बैंकसँग मर्जरमा जाने भएपछि एनसीसी बैंकको माथिल्लो तहका कर्मचारीलाई सो योजना ल्याएर मर्जर प्रक्रियालाई सहजीकरण गर्न लागेको हो ।

१ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका यी दुई बैंक मिलेर बन्ने कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत भने हाल एनसीसी बैंकका सीईओ रमेशराज अर्याल नै हुनेछन् भने सिनियर डेपुटी सीईओमा हाल कुमारी बैंकका सीईओ रामचन्द्र खनाल रहने गरी मर्जर प्रक्रियामा जान सहमत भएका हुन् । यी दुई बैंकले एक आपसमा मर्जरमा जानका लागि गत असोज ९ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

यी दुई बैंक १ः१ स्वाप रेसियोमा मर्जरमा जाने भएकाले मर्जर पछि उक्त बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ५६ हजार पुग्नेछ ।

यसअघि नेपालको बैंकिङ उद्योगकै आकर्षक भीआरएस स्किम कुमारी बैंकले ल्याएको थियो । त्यसपछि त्यस्तै आकर्षक स्किम ल्याउनेमा सांग्रीला बैंकको नाम थियो भने अहिले कुमारीसँगै मर्जर जानका लागि एनसीसी बैंकले योजना ल्याएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स