बैंकहरूले घटाउन थाले ब्याजदर, अब ११.१८ प्रतिशतमै कर्जा पाइने

काठमाडौं । बैंकहरूमा लगानी योग्य पुँजी सहज हुन थालेपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् । विकास बैंक र फाइनान्स कम्पनीले यस अघि नै मंसिर महिनामा कर्जाको ब्याज घटाउने सहमति गरेपनि वाणिज्य बैंकहरू कार्तिक महिनाको ब्याजलाई नै यथास्थितिमा राख्ने सहमति गरेका थिए ।

यद्यपि नेपाल इन्भेष्टमेन्ट बैंकले ११.१८ प्रतिशतमै कर्जा दिने भएको छ । बैंकले साना तथा मझौला व्यवसायीलाई उपलब्ध गराउने उद्देश्यका साथ ल्याएको यो योजना अहिले बैकिङ क्षेत्रमा चलेको ब्याजदरभन्दा एकदमै कम हो । बैंकले ‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने साना तथा सझौला व्यवसाय कर्जा सो ब्याजदरमा उपलब्ध गराउन लागेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले साना तथा मझौला व्यवसायीलाई लक्षित गरी सो ब्याजदरमा २ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने नयाँ योजना ल्याएको छ । बैंकले यो योजना सार्वजनिक गरेपछि ब्याजदर यथास्थितिमा राख्ने भनेर बसेका बैंकहरूलाई ब्याजदर घटाउन प्रेसर पर्नेछ । इन्भेष्टमेन्ट बैंकले मंसिर महिना मै कर्जाको ब्याजदर घटाएपछि अन्य वाणिज्य बैंक पनि पुसमा ब्याजदर घटाउन बाध्य हुनेछन् ।

नेपाल इन्भेष्टमेन्टले ल्याएको यो योजना अन्तर्गत दिने भनेको ब्याजदर हाल बैंकहरूले मुद्दति निक्षेपमा दिने ब्याजदर भन्दा पनि कम हो । वाणिज्य बैंकहरूले साधारण मुद्दतिको ब्याज दर १२.१३ प्रतिशत यथावत राखेका छन्।

विकास बैंकहरूले भने मंसिर महिनामा १३ प्रतिशतको ब्याज दर ०.१५ प्रतिशतले घटाएर १२.८५ प्रतिशतमा झारेका छन् । फाइनान्स कम्पनीहरुले पनि ०.१५ देखि ०.२० प्रतिशतसम्मले ब्याज घटाएका छन्। तीन महिने मुद्दतिको ०.२० प्रतिशत र त्योभन्दा बढीको ०.१५ प्रतिशतले घटाएका छन् । फाइनान्स कम्पनीमा अहिले एक वर्षे मुद्दतिको ब्याज दर १३.३० प्रतिशत कायम भएको छ । तीन महिनेको १३ प्रतिशत कायम भएको छ ।

कार्तिक महिनाको अन्तिम साता बैंकहरूमा निक्षेप बढेको छ । अहिले निर्वाचन पनि सकिएकोले निर्वाचनमा गरिएको खर्च पनि अब बैकिङ प्रणालीमा आउन थाल्छ र केहि विकास निर्माणका कामहरू पनि अघि बढ्ने हुनाले सरकारी खर्च पनि बढ्छ । यसका साथै रेमिट्यान्स बढेर आउन थालिसकेको छ । यी सबै कारणले गर्दा इन्भेष्टमेन्ट बैंकले जस्तै अन्य बैंकले पनि अब विस्तारै ब्याजदर घटाउन थाल्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स