पूर्वसञ्चारमन्त्री बस्नेतको राजनीतिक जीवनयात्रा

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराएका छन् ।

विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उनले भारी मतले विजयी भएका छन् । विकासप्रेमी नेताको छवि बनाएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय सक्रिय छन् ।

प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उनले १ वर्ष जेल बसेका थिए । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बसेका थिए । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहेकाका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

विसं २०१५ भदौ २७ गते खड्गबहादुर बस्नेत र कोमलमाया बस्नेतको सुपुत्रका रूपमा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सानोपलातीमा जन्मिएका बस्नेत पञ्चायतकालमा विद्यार्थीकालदेखि नै प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय भएका हुन् ।

राजनीतिसँगै शिक्षण, व्यापार, कृषि र पशुपालनमा पनि सक्रिय उनले प्रवेशिका परीक्षा दिने जिल्लाका धेरै विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गराए । बाढीपहिरो, भूकम्प, कोरोना महामारीजस्ता विपत्तिका बेला उनले सक्रिय भएर काम गरेका थिए । विशेषगरी कोरोना महामारीका बेला स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण उपलब्ध गराउन उहाँले विशेष सक्रियता देखाए ।

विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उहाँले महत्वपूर्ण काम गरेका थिए । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि उनले २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हालेका थिए । बस्नेतले लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गरेका छन् ।

यसैक्रममा उहाँले अमेरिका, जापान, रसिया, बेलायत, फ्रान्स, इटाली, नेदरल्याण्ड, जर्मनी, अष्ट्रिया, स्वीजरल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, चीन, हङकङ, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान, बंगलादेश, मकाउ, सिङ्गापुर आदि देशको भ्रमण गर्नुभएको छ । कांग्रेसको केन्द्रीय खेलकुद विभाग प्रमुख भएर पनि उहाँले काम गरिसक्नुभएको छ । बस्नेतको नेतृत्वमा सत्ता गठबन्धनले जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले एमालेका शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याउनुभएको थियो । तामाङले यसअघि २०७० र २०७४ मा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स