प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट खाता खोलेसँगै चर्चामा योगेश (यस्तो राजनीतिक करियर)

काठमाडौं । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुन्, योगेश गौचन थकाली । उनले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै संघीय संसद्को यात्रा तय गरेका हुन् । कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित २९ वर्षीय योगश कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा हुन् । त्यसैले पनि यतिखेर सबैको ध्यान उनीप्रति आकृष्ट भएको छ ।

निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रिय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए ।

कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् । विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मनुभएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन छन् भने होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आएका छन् । उनी ट्राभल्स एण्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी पनि छन् ।

जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनले नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएको थियो । उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बनेका थिए । हाल पार्टीको महासमिति सदस्य रहेका उनी गण्डकी प्रदेश कार्यसमितिमा रहेका छन् ।

प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए । विसं २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेमको साला भेना नाता पर्छ । रोमी (योगेशका बुबा) र प्रेम मामा–फूपूका छोरा हुन् ।

रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए । विसं २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका बनेका हुन् । । दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाइदिए । रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित रहेका थिए । रोमी २०७३ मा वाणिज्य मन्त्री थिए । विसं २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो । नयाँ र युवा उम्मेदवारप्रति मतदाताको आकर्षण, गठबन्धनमा आबद्ध दलको साथ र स्वतन्त्र मतदाता आफ्नो पक्षमा रहेकाले चुनाव जित्ने योगेशको दाबी थियो ।

योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चीनसँग कूटनीतिक प्रयास र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने निर्वाचनका क्रममा बताएका थिए । जोमसोम–कोरला सडक कालोपत्र गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स