विद्युतीय कार ‘निसान लिफ’को टेस्ट ड्राइभ शुरु, मूल्य ५९ लाख ९९ हजार

काठमाडौं । जापानी कार निसानको विद्युतीय कार ‘निसान लिफ’ नेपालमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले निसान लिफको टेस्ट ड्राइभ शुरुवात गरेको हो ।

आज भाद्र २८ गते देखि शुरु भएर आगामी असोज ४ गते सम्म चल्ने ’निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ मा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गर्न सक्ने छन् । सो अवसरमा विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, पुराना गाडीको भ्यालुएसन सुविधा र आवश्यक फाइनान्स सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ ।

निसानको काठमाडौंको थापाथली तथा उत्तर ढोका शोरूममा बिहान १० बजे देखि उक्त सप्ताह शुरु हुनेछ ।

अहिलेको परिस्थितिमा निसानले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहकबर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जनाएको छ ।

नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भैसकेको छ । यस अवधिमा विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्री भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमिटरको यात्रा तय गरिसकेको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ मोड तथा एबीएस, ईबीडी तथा बीए जस्ता विश्वस्तरिय सुरक्षा मापदण्डहरुले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको छ । यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।

निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्षको वारेण्टी प्रदान गरिरहेको छ । निसान लिफ ४० किलोवाट आवर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किलोमिटर सम्मको दुरी तय गर्न सक्छ । यसको इलेक्ट्रिक मोटरले १५० पीएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ ।

निसान लिफले ० देखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड लिन ७।५ सेकेन्ड मात्र लगाउछ र यसको अधिकतम गति १४० किलोमिटर प्रतिघण्टा छ

नेपालमा एउटा अत्याधुनिक तथा वातावरणमैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ भित्र्याएको बताएको छ । निसान लिफको मूल्य नेपाली बजारमा ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स