काठमाडौं । चुनाबमा सरकार, दल तथा उम्मेदवारले गरेको खर्च बैकिङ प्रणालीमा भित्र्न थालेको छ । चुनावी मिति नजिकिदै जाँदा बैंकमा पनि बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पछिल्लो समय बैकिङ प्रणालीमा निक्षेप बढ्दै गएर एकैदिन बैंकिङ प्रणालीमा १६ अर्ब निक्षेप थपिएको छ । सो निक्षेपमध्ये १३ अर्ब वािणज्य बैंकमा थपिएको हो भने विकास बैंक, फाइनान्स कम्पनीमा ३ अर्ब निक्षेप थपिएर एकै दिन १६ अर्ब निक्षेप थपिएको हो ।
यो निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाको कात्तिक ३० गतेसम्म कुल निक्षेप ५१ खर्ब ८४ अर्ब पुगेको छ । कात्तिक २९ गतेसम्म ५१ खर्ब ६८ अर्ब रुपैयाँमात्रै निक्षेप थियो । सो अवधिमा वाणिज्य बैंकमा मात्रै १३ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरूमा ४५ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप छ ।
एकदिनमा १ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । निक्षेप बढेसँगै एकैदिनमा सीडी रेसियो पनि घटेको छ । कात्तिक २९ गते ८७.०९ प्रतिशत रहेको सीडी रेसियो कात्तिक ३० मा ८६.८५ प्रतिशतमा सीमित भएको छ ।