काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी घटेसँगै सञ्चालन मुनाफा ऋणात्मक भएपछि लघुवित्तको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.८८ प्रतिशत घटेको छ । अन्य सञ्चालन आम्दानी २०.५१ प्रतिशत घटेको छ ।
लघुवित्तको कुल सञ्चालन आम्दानी १९.८५ प्रतिशत घटेको छ। सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिमबापतको व्यवस्थामा १ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ। जसका कारण सञ्चालन मुनाफा १ करोड १५ लाख रुपैयाँ ऋणात्मक भएको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा घटेर २९ रुपैयाँ ३२ पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.१८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ६० पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष २५.८९ प्रतिशत बढेको छ । लघुवित्तको सापटी २२.१९ प्रतिशत बढेको छ भने निक्षेप १४.४५ प्रतिशत र कर्जा १८.५६ प्रतिशत बढेको छ ।