पछिल्लो समय खानेतेल, चामल, मैदालगायत खाद्यान्नको मूल्यमा दोब्बरले वृद्धि, कुन वस्तुको कतिले बढ्यो ?

काठमाडौं । यसवर्ष दसैं, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपतमा बढ्न नसकेको उनीहरुको भनाइ छ ।

अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि देखिएको तर खपत भने नबढेको खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बताए । व्यापारीले विभिन्न समयमा विभिन्न बहानामा खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने तर घट्ने बेलामा भने नघटाउने गरेको उनको बुझाइ छ । पछिल्लो समय खानेतेल, चामल, मैदालगायत खाद्यान्न वस्तुमा धेरै मूल्यवृद्धि भएको छ ।

‘खाने तेल प्रतिलिटर ३५ रूपैयाँदेखि ४० रूपैयाँसम्म बढेको छ । मैदा पनि प्रतिकेजी १५ रूपैयाँ सम्म बढेको छ । भारतले निर्यातमा कडाइ गरेपछि चामलको मूल्य बोरामै दुईदेखि तीन सयसम्म बढे पनि अहिले अवस्था सहज हुँदा घटेको छैन’, उनले भने ।

कोरोना महामारी, रुस(युक्रेन युद्धलगायत विषम परिस्थितिका बेला भएको मूल्यवृद्धि अहिले अवस्था सामान्य भइसक्दा पनि घट्न नसकेको उनको भनाइ छ । यसरी सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुनुमा नियामक निकाय कमजोर भएको बज्राचार्यले बताए ।

‘चुनाव लागेपछि बजारमा सरकारको उपस्थिति हुँदैन । नियामक निकाय कमजोर हुन्छन्,’ बज्राचार्यले भने, ‘मूल्य बढ्नुमा अर्को शंका के पनि छ भने, राजनीतिक दल र चुनावमा उठेका उम्मेदवारलाई चन्दा दिनुपर्ने भएपछि त्यसको बदलामा व्यवसायीले उपभोग्य सामग्रीको मूल्यवृद्धि गरे ।’

मू्ल्यवृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति कम हुन्छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, अमेरिकी डलरको भाउ वृद्धिलगायतका विभिन्न कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीमा मूल्य बढाएका थिए । तर अहिले आपूर्ति शुुङ्खला सामान्य अवस्थामा रहँदा पनि मूल्यवृद्धि कायमै छ । विभिन्न कारण देखाएर मूल्यवृद्धि गर्ने व्यापारीले अवस्था सामान्य भएको अवस्थामा भने मूल्य घटाउँदैनन् ।

खुद्रा व्यापार संघको खाद्यान्न मूल्यसूची अनुसार पछिल्लो एकवर्ष अवधिमा खानेतेलको मूल्यमा दोब्बरको वृद्धि देखिएको छ । यो अवधिमा भुटेको तोरीको तेल प्रतिलिटर दुई सय २० रूपैयाँबाट बढेर तीन सय ५०रूपैयाँ, काँचो तोरीको तेल प्रतिलिटर एक सय ४० बाट दुई सय ४० रूपैयाँ , भटमास तेल प्रतिलिटर एक सय १५ बाट दुई सय ३० रूपैयाँ, सूर्यमुखी तेल प्रतिलिटर एक सय २५ बाट दुई सय ४० रूपैयाँ सम्म पुगेको छ ।

त्यसैगरी चामलमा प्रतिकिलो १० देखि २०रूपैयाँ, मास दाल प्रतिकिलो ३० रूपैयाँ, मुसुर दाल प्रतिकिलो ५० रूपैयाँ, मुग दाल प्रतिकिलो ४० रूपैयाँ, रहर दाल प्रतिकिलो ७० रूपैयाँ सम्म बढेको छ । त्यसैगरी, भटमासमा प्रतिकिलो ४० देखि ५०रूपैयाँ, केराउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ, सिमी प्रतिकिलो २० देखि ३० रूपैयाँ सम्म मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले तरकारीको मूल्य र खपत दुवैको अवस्था स्वभाविक छ ।

हाल बर्खायाममा फल्ने तरकारी र फलफूलको मौसम सकिएर हिउँदे तरकारी तथा फलफूलको मौसम सुरु भएकाले सोहिअनुसार आपूर्ति भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘कालीमाटीमा दैनिक औसत ८ सय मेट्रिक टन तरकारी र फलफूल आउने गरेको छ । अहिले पनि त्यही अनुपातमै आइरहेको छ । बजार माग बढेको वा बढी सामान आएको भन्ने अवस्था अहिले छैन’, श्रेष्ठले भने । समितिको विवरणअनुसार मंगलबार सात लाख ५२ हजार चार सय ४२ किलो तरकारी र फलफूल आएको छ ।

त्यस्तै, सोमबार ८ लाख २७ हजार नौ सय ९६ किलो र आइतबार पाँच लाख ८९ हजार चार सय ४८ किलो फलफूल र तरकारी कालीमाटीमा आएको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसारअसोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । पहिलो त्रैमासिक विवरणअनुसार काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महंगी बढेको छ ।

यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आठ दशमलव ०५ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मुद्रास्फीति १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ ।

सेवा समूह अन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिंग तथा घरायसी उपकरणहरुको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स