काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट प्रतिस्थापन विधेयकको उद्देश्य पूरा गर्न ३ महिना भित्र मौद्रिक नीतिको समीक्षा गर्ने बताएका छन् । सरकारले लिएको आर्थिक वृद्धिदर हासिल गर्न मौद्रिक नीतिको समीक्षा गर्ने उनले बताएका हुन् ।
अधिकारीले आइतबार अर्थ मन्त्रालयमा आयोजित बजेट प्रतिस्थापन विधेयकपछिको पत्रकार सम्मेलन कार्यक्रममा ७ आर्थिक वृद्धिदर लक्ष्य पुरा गर्न आफ्नो तर्फबाट लगानीलाई प्रोत्साहन गर्ने बताएका हुन् ।
अहिले पनि १८/१९ प्रतिशत लगानी निजी क्षेत्रबाट हुने गरेको बताउँदै उनले भने ‘सो वृद्धिदर हासिल गर्न लगानीले धान्छ ।’
सरकारले वर्षेनी बजेट ल्याएपछि त्यसैले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ । यो वर्ष अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट अध्यादेशलाई अहिलेको सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट संशोधन गरेको छ ।
अघिल्लो वर्ष ६.५ प्रतिशतको यस्तो लक्ष्य थियो । मौद्रिक नीतिपछि सरकारले बजेट संशोधन गरेकोले अब सोही अनुसारको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा आवश्यक विषयसाई सम्बोधन गर्न सकिने गभर्नर अधिकारीले बताए ।