सेयर बजार २२ सय अंकभन्दा माथि जान्छः छोटेलाल रौनियार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले बजार छिट्टै २२ सय अंकभन्दा माथि जाने बताएका छन् । घट्दो बजारमा उनले गरेको यो प्रक्षेपण धेरैलाई विश्वास गर्न गाह्रो भएपनि बजार भने माथि नै जाने टेक्निकल विश्लेषणले पनि देखाएको छ । ‘रेड जोन’ बाट ‘ग्रीन जोन’ मा प्रवेश गर्दै गरेको बजारले पक्कड लिन बेर लगाउने उनको ठम्याइ छ ।

‘अहिले बजार केहि तलमाथि पनि बजार अब जाने बुल ट्रेन्डमै हो,’उनले भने ‘बजारमा धेरै लगानीकर्ताहरू प्रवेश गर्न खोजिरहेका छन् र पुराना लगानीकर्ताले पनि जोखिम मोलेरै भएपनि सेयर थमौती गरिरहेका छन् । पुराना लगानीकर्तामा देखिएको यो धैर्यताको प्रतिफल अब लिने बेला आएको उनले बताए ।

बैंकमा विस्तारै लगानीयोग्य पुँजी बढ्दै छ । रेमिट्यानस पनि बढिरहेको छ । ४४ लाख लगानीकर्ता मेरो सेयरमा प्रत्यक्ष रुपमा आवद्ध भएका छन् भने करिब २७ लाखले आईपीओ भर्ने गरेका र १४ लाखले टीएमएसबाट कारोबार गरिरहेकोले पनि अब सेयर बजारको विकल्प नभएको उनको भनाइ छ ।

धितोपत्र बोर्डले एनआरएनलाई लगानी गर्न ढोका खोलिदिइ सकेको छ । रेमिट्यान्सवालाले भर्न पाउने सेयरको निश्चिता भएको छ । ‘बैंक तथा वित्तीय संस्थालगायत अन्य कम्पनीले धमाधम लाभांश घोषणा गरिरहेका छन् सो कारणले गर्दा पनि अब सेयर बजार माथि जान्छ,’ उनले भने ।

‘यो लगानी गर्ने खराब समय होइन, बादलको छिद्रहरू देखिएको हो,’ छिट्टै फाट्छ,’ उनले भने ‘ढुक्क भएर लगानी गर्नोस्, राम्रो प्रतिफल आउँछ ।’ सेयर बजारको प्राविधिक, सैद्धान्तिक तथा बजार ट्रेण्डलाई हेर्दा पनि बजार बढ्नको विकल्प नभएको उनले बताए । साना लगानीकर्तालाई आत्तिएर सेयर बिक्री नगर्न सुझाव दिँदै उनले भने १५ महिना घटेको बजारले बुलिसको नयाँ ट्रेण्ड समात्दैछ ।’

अहिले बजार घट्दै हतोत्साहित नहुनुस्, १५ महिना बैंकको ब्याज तिरसक्नु भएकोले अब केहि धैर्य गर्न सक्नुपर्ने बताउँदै उनले भने ‘चुनावपछि बन्ने नयाँ सरकारले लिने नीतिले सेयर बजारलाई माथि उकास्छ ।’ राजनीतिक पार्टीको घोषणापत्रमा सेयर बजार समेटिएकोले यसले प्राथमिकता पाउने निश्चित भएकोमा उनी लगानी नडुब्नेमा आफू ढुक्क छन् । त्यसैले उनले साना लगानीकर्तालाई पनि नआत्तिकन ढुक्क भएर बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स