काठमाडौं । वाणिज्य बैंकहरू एग्रेसिभ बन्दै गएका छन् । पछिल्लो ५ दिनमा बैंकहरूले ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । चालु आर्थिक वर्ष लागेदेखि ६० अर्ब कर्जा प्रवाह गरेका बैंकले कार्तिक महिनाको ११ गतेसम्म ५ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांकमा उल्लेख गरिएको छ । कार्तिक ५ गते शनिबार र ७ गतेदेखि तिहारको विदा परेकोले बैंकहरूले बैंकिङ कारोबार भएको ५ दिनमा ५ अर्ब रुपैयाँ नै कर्जा प्रवाह गरेका हुन्
कार्तिक ७ गतेदेखि १३ गतेसम्म अधिकांश कार्यालय बन्द भएपनि बैंकहरू भने खुलेका थिए । बैंक खुलेपनि यो अवधिमा कर्जा दिने काम भने भएन र निक्षेप संकलन र चेक क्लियरिङको काममात्रै बैंकहरूले गरेका थिए ।
असोज ३१ गते ४२ खर्ब २० अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा प्रवाह ११ गतेसम्म आईपुग्दा कर्जा बढेर ४२ खर्ब २५ अर्ब पुगेको छ । चालु आर्थिक वर्षको सुरुमा भने बैंकहरूको कर्जा लगानी कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ थियो ।
त्यसैगरी पछिल्लो ११ दिनमा वाणिज्य बैंकहरूबाट २३ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । गत असोज मसान्तसम्म वाणिज्य बैंकहरूमा कुल ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप मौजदात थियो । जुन काक्तिक ११ गतेसम्म आइपुग्दा २३ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँ कायम भएकोे छ ।
यसबीच नेपालीहरुको दोस्रो महान चार्ड तिहार परेको थियो । ग्राहकले तिहार बिदा सुरु हुनु अघिदेखि नै बैंकमा राखेका पैसा झिक्दा तिहार समाप्त हुँदासम्म सो परिमाणमा बैंकबाट निक्षेप बाहिरीएको हो ।
कार्तिकको ४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो । एक साताको अवधिमा भने वाणिज्य बैंकहरूाबाट १७ अर्ब रुपैयाँ निक्षेप बाहिरीएको हो ।
यसबीच अर्बौ निक्षेप बाहिरिए पनि तिहारको बिदामा कर्जाको कारोबार नहुँदा वाणिज्य बैंकको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सामान्यमात्रै वृद्धि भएको छ । कार्तिक ४ गतेसम्म वाणिज्य बैंकहरूको औषत सीडी रेसियो ८७.२३ प्रतिशत कायम थियो । कार्तिक ११ गतेसम्म ८७.५८ प्रतिशत कायम छ ।