काठमाडौँ । २६ वाणिज्य बैंक मध्ये हालसम्म ७ वटाले आर्थिक वर्ष २०७८÷७९ को लाभांश घोषणा गरेका छन् । सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक), बैंक अफ काठमाण्डू (बीओके), सानिमा बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेका छन् ।
सबैभन्दा बढी बीओकेले २०.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा घोषणा गरेका छ । लाभांश घोषणा गरेका सिटिजन्स बैंकले साधारण सभाबाट प्रस्तावित लाभांश पारित गरिसकेको छ भने कुमारी बैंकले लाभांश पारित गर्न कात्तिक २१ गते र एनसीसी बैंकले मंसिर २ गते साधारण सभा बोलाएका छन् ।
कुन बैंकले कति दिँदैछन् लाभांश ?
सिटिजन्स बैंकको कात्तिक ४ गते सम्पन्न १ ६औँ वार्षिक साधारण सभाले हाल कायम चुक्ता पँुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६ सय ६१ रुपियाँ बराबरको नगद लाभांश अनुमोदन गरेको छ । २६ वाणिज्य बैंक सिटिजन्स लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंक संचालक समितिको कात्तिक ६ गते आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्नेछ ।
आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपियाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने भएको हो ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) को २५औँ वार्षिक साधारण सभा मंसिर २ गते हुने भएको छ । साधारण सभाले सञ्चालन समितिले प्रस्ताव गरेको ७.६३३७ प्रतिशत नगद लाभांश र ३.३६६३ प्रतिशत बोनस सेयर पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कात्तिक १५ गते १ दिन बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।
बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ छ ।
कुमारी बैंकको २२औँ वार्षिक साधारण सभा कात्तिक २१ गते बोलाएको छ । उक्त साधारण सभाले कर प्रयोजनसहित चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश पारित गर्नेछ । असोज १४ गते सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । साधारण सभा प्रयोजनका लागि कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत भएको छ ।
बैंक अफ काठमाण्डू (बीओके) ले २०.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते बिहान बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको कात्तिक ४ गते शुक्रबार बसेको बैठकले आव २०७८/०७९ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले १६.५१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । अर्थात् बैंकले प्रति सेयर १६ रुपैयाँ ५१ पैसा वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस सेयर प्रस्ताव गरेको छैन ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । अझेै १८ वटा वाणिज्य बैंकको लाभांश भने सार्वजनिक हुन बाँकी नै रहेको छ ।