काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले डा.कार्कीको उम्मेद्वारी खारेजमा सर्वोच्चको कारण देखाउ आदेश दिएको हो । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको हो ।
मेडिकल काउन्सिलको सदस्य समेत रहेकी डा.तोसिमा कार्की लाभको पदमा रहेको पाइएको भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । नियमित तलब भत्ता नलिने भएको कारण उक्त पद लाभको पद नरहेको भन्दै कार्कीले सोमबार सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन दर्ता गराएकी थिइन् ।
मंगलबार पेसीमा चढेको उक्त रिटमा न्यायाधीश चुडालको इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चको आदेशसँगै कार्कीको उम्मेदवारी तत्कालका लागि कायम भएको छ ।
सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध विपक्षी निर्वाचन आयोग भ्याकेट निवेदन लिएर सर्वोच्च जान समेत सक्नेछ । भ्याकेट निवेदन परेको अवस्थामा उक्त रिट दुई न्यायाधीशको इजलासमा जानेछ ।