५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सेवा पुर्याएको बताएका छन् । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको दाबी गरेका छन् ।

‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’ सञ्चालन गरी १० वर्षे विद्यालय सुधार योजना सार्वजनिक गरेका छौं,’ उनले भने, ‘हालसम्म देशका ५२ प्रतिशत विद्यालयमा आइसीटील्याब र इन्टरनेट सुविधा पुर्याएका छौं आगामी वर्षसम्म ६५ प्रतिशत पुर्याउँछौं ।’ बजेटमा ८ कक्षासम्म निःशुल्क खाजाको व्यवस्था भएपनि हाल सरकारले ६ कक्षासम्म लागू गरेको बताउँदै आगामी वर्षसम्म ८ कक्षासम्म पुर्याउने बताए ।

राजनीतिक प्रसंग निकाल्दै उनले समावेशी चरित्रका आधारमा जनताको मौलिक अधिकार प्राप्तका लागि लेखिएको संविधान कार्यान्वयन गर्नेक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुक्का हानेको आरोप लगाएका छन् । संविधान र मौलिक हक, सार्वभौमिकताको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए । देशमा एसपीपी विषय आउने बित्तिकै कुटनीतिक सम्बन्ध अप्ठ्यारोमा नपर्ने गरी मित्रवत् रुपमा मन्त्रिपरिषद्बाट अस्वीकार गरेको बताए । गठबन्धन टुट्याउन विदेशीहरु नेपाल आएपनि उनीहरु सफल नभएको बताए ।

संविधान सभा सदस्य निरज पुनले अहिलेको प्रणाली ल्याउन कांग्रेस, माओवादीसहितका दलको भुमिका रहेको बताए । जनताको प्रदेश सभा सदस्य उम्मेदवार जीतबहादुर शेरचनले सरकार सञ्चालनमा देखिएका बेतिथिहरुलाई तोड्न गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

सांसद र मन्त्री नभएपनि जनताका लागि काम गरेको बताउँदै जनताको सिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधिसभा समानुपातिक उम्मेदवार रेनुका काउचा, नेकपा माओवादी केन्द्रका प्रदेश सभा समानुपातिक उम्मेदवार मेखबहादुर विक, नेकपा माओवादी केन्द्रका अध्यक्ष राजीव घिमिरे, राष्ट्रिय जनमोर्चाका सचिव भिमलाल पोखरेललायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स