मिथिलामा ‘गोधन’ पर्व मनाइँदै

आज बुधबार कात्तिक शुक्ल प्रतिपदा दीपावली (तिहार) पर्वको पाँचौँ दिन महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका आफन्त बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मङ्गल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।

सामान्यतया यमपञ्चक पनि भनिने दीपावली पर्व पाँच दिनको हुने भए पनि यसपालि भने तिथिको भोग घटबढले छ दिनको बनेको छ । प्रचलनमा कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मलाई यमपञ्चक भनिन्छ । यसपालि गत शनिबार साँझ नै त्रयोदशी तिथि टेकेपछि सोही दिन ‘धनतेरस’ मनाइँदा यसपालि दीपावली पर्व छ दिनको परेको हो । पाँच दिनको यमपञ्चकमा भने चौथो दिन नै ‘गोधन’ मनाइन्थ्यो ।

गोेधन पर्वमा गाईको गोवरले लिपेर पवित्र बनाइएको चतुष्कोण वेदिभित्र गोबरकै मानव आकृति बनाएर धान, सिन्दूर, फूल, दुबो र पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले पूजा गर्ने गरिन्छ । विघ्ननासक गणपतिको आह्वान गर्दै सुरु गरिने यो पूजाविधिमा प्रकृति आराधना भएको मैथिल विद्वान् बताउँछन् ।

यो पर्व द्वापरयुगमा श्रीकृष्णले गोकूल (तत्कालीन मथुरा राज्यअन्तर्गतको बस्ती) नजिकको गोवर्धन पर्वतलाई इष्टजनसहित पूजा गरेका परम्पराको सम्झना भएको मानिन्छ । गाई (गो) मुख्य पशुधन मानिने त्यो बेला श्रीकृष्णले गोवर्धन पर्वतले गाई पाल्न घाँस र पानी दिएको भन्दै सबैलाई इन्द्रको साटो पर्वतलाई पूजा गर्न हौस्याएका महाभारतकालीन कथा बस्तु नै पर्व परम्परा भएको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमल ले बताए । पछिपछि गोव र्धन पूजा नै मिथिलामा ‘गोधन’ भनिन लागिएको उनको भनाइ छ ।

यस पर्वमा मिथिलाका कतिपय जाति समुदायमा महिलाले धान, सिन्दूर, फूल, दुबो र पिठार ओखलमा राखेर कुट्ने गर्छन् । यो मिश्रण गाई, गोरुसहितका पशुधनलाई रङ्ग्याउन प्रयोग गरिन्छ । गाई, गोरुलाई विभिन्न रङमा मिसाएर यो मिश्रणले रङ्ग्याउने गरेमा पशुधनमा कसैको आँखा नलाग्ने, देशान (रोगव्याधी) नलाग्ने मैथिल जनविश्वास रहेको छ ।

पर्वका दिन गाई, गोरुका सिङ्, खुरमा तोरीको तेल लगाई दिने, पिना (तोरी पेलिएको चोकर) खुवाउने र नयाँ दाम्ला लगाइ दिने (दाम्ला फेर्ने) परम्परा छ । पर्वको मुख्य पक्ष प्रकृति (वन, पहाड, पानीका मुहान, चरण क्षेत्र) संरक्षणको सन्देश रहेको डा विमलले बताए। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा यो पर्व परम्परा बनेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स