चितवन । राजनीति, समाजसेवा र दानकी खानी मैयाँदेवी श्रेष्ठ अब हामीबीच रहेनन् । शिक्षा र आध्यात्मिकताको क्षेत्रमा समेत आफूलाई सदा समर्पित गरी तन, मन र धनले लागिपरेकी श्रेष्ठ सबैका लागि श्रेय र प्रिय थिए । राजनीतिमा निष्ठा, समाजसेवामा निस्वार्थ भाव र धर्ममा समभाव राख्ने उनी नेपाली समाजका लागि साहस, त्याग र समर्पणको पर्यायका रूपमा उभिएकी थिइन्।
उनी आदर्श, त्याग र समर्पणको प्रतिमूर्तिका रूपमा चिनिन् थिन्। श्रेष्ठको आज ९८ वर्षको उमेरमा चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको छ । विसं १९८५ फूलपातीका दिन तनहुँको बन्दीपुरमा बुबा वीरबहादुर श्रेष्ठ र मुमा गणेशकुमारी श्रेष्ठको कोखबाट उनको जन्म भएको हो ।
किशोरावस्थादेखि नै राणाशासनको क्रुर पञ्जाबाट देशलाई मुक्त गर्न राजनीतिमा प्रवेश गरेकी उनी नेपाली इतिहासको जीवन्त पात्र हुन् । विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गरी मुलुकमा प्रजातान्त्रिक हक र हितका निम्ति अनवरत रूपमा उनले क्रान्ति गरिन् ।
विसं २००७ माघ १ गतेका दिन सशस्त्र क्रान्ति गर्ने निर्णयअनुसार भएको कार्यक्रममा उनको भूमिका महत्त्वपूर्ण रह्यो । सो क्रान्तिमा छ जना उनका साथीले वीरगति प्राप्त गरेका थिए । तत्कालीन समयमा विसं २००८ मा तनहुँको बन्दीपुरमा सामाजिक नारी संघ खोलेर महिलाको चेतना वृद्धि गर्दै विकासका काममा उनी अगाडि बढिन् ।
विसं २०११ मा तिरो आन्दोलन सफल बनाउन, विसं २०१२ मा प्रजातान्त्रिक ग्रामीण महिला मण्डल, २०१३ सालमा राप्ती दुन विकास विभाग वितरण समिति, सोही वर्ष नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सदस्य रहेर उनले योगदान दिइन् । उनको निधन हुनुअघि संवादमा बताएअनुसार विसं २०१४ मा भद्र अवज्ञा आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा बन्दीपुरमा उनी गिरफ्तार भइन् । विसं २०१५ को निर्वाचनमा पार्टीलाई विजयी गराउन उनको भूमिका महत्वपूर्ण रह्यो ।
विसं २०१७ पुस १ गते मुलुकमा स्थापित प्रजातन्त्रलाई कुठाराघात गरी पञ्चायती व्यवस्थाको निरङ्कुश शासन मुलुकमा सञ्चालन भएको अवस्थामा प्रजातन्त्रको पुनःस्थापनाका लागि उनी गोप्य रूपमा संगठनमा लागिन् । विसं २०१७ देखि २०१९ सम्म देवघाटमा बसेर पार्टीका लागि निरन्तर काम गरिन् । विसं २०३६ मा चितवन जिल्ला महिला संघको अध्यक्ष भएर जनमतसङ्ग्रहमा उनले भाग लिइन् । विसं २०४२ मा सत्याग्रह सफल पार्न भूमिका निर्वाह गरेकी श्रेष्ठ विसं २०४४ मा बिपी स्मृति दिवसका दिन पक्राउ परिन् ।
विसं २०४६ को जनआन्दोलनमा चितवनमा सक्रिय भूमिका निर्वाह गरेकी उनी २०४८ सालमा पार्टीले टिकट दिएपछि गोरखा क्षेत्र नं २ बाट निर्वाचनमा भाग लिई प्रतिनिधिसभाको सदस्यमा विजय भएकी थिइन्। त्यस्तै गरी २०५३ मा नेपाली कांग्रेस पार्टीको केन्द्रीय पर्यवेक्षकको नवलपरासीको संयोजक भई उनले पार्टीले दिएको जिम्मेबारी पूरा गरेकी थिइन् ।
‘सुश्री मैयाँदेवी श्रेष्ठ, व्यक्ति एकः व्यक्तित्व अनेक’ पुस्तकमा लेखिएअनुसार श्रेष्ठले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय पर्यवेक्षकको रूपमा सिन्धुलीमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् । तनहुँ क्षेत्र नं २ बाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्यमा उनी विजयी भएर काम गरिन् ।
विसं २०५२ साउन ४ गते नेपाली कांग्रेस केन्द्रीय संगठन विभागको सदस्य पदमा मनोनित भएकी उनी २०५८ साल असार १३ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भइन् । विसं २०६२ असार १७ गते उनी त्रिभुवन विश्वविद्यालय सभामा मनोनित भइन् ।
विसं २०६२÷६३ को जनआन्दोलनमा उनी सक्रियपूर्वक लागिन् । विसं २०६४ मा संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनिन् । आफ्नो जीवनभर अरूका लागि समर्पित उनी दान गरेर कहिल्यैँ थाक्नु भएन । सानातिना उनका सहयोगको कुनै गणना नै छैन । नारायणगढस्थित बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा उनले दान गरिन् । मैयाँदेवी कन्या कलेज चितवनलाई १२ कठ्ठा जग्गा खरिदका साथै भवन निर्माणका लागि लागेको सम्पूर्ण खर्च उनले नै बहन गरिन् । नेपाली कांग्रेस भरतपुर वडा नं ३ लाई कार्यालय बनाउन उनले जग्गा उपलब्ध गराइन् ।
उनले भक्त थानेश्वर महाप्रभुलाई धार्मिक मन्दिर निर्माणका लागि मैयाँदेवी मार्गमा एक करोड बराबरको जग्गा दान गरेकी छिन् । उनले आफूलाई सहयोग गर्ने ऋषि गौतम, हरिनारायण सापकोटा, शिश्वासर बाजे (पुरेत), षडानन्द लामिछाने (पुरेत), सुल श्रेष्ठ, सुरला पिया, दुर्गा श्रेष्ठ, सुस्मिता श्रेष्ठ, टिना श्रेष्ठ, टंकनाथ पौडेल, स्वामी कैलाशानन्द सरस्वती, थानेश्वर महाप्रभु र मन्दिरा श्रेष्ठलाई भूमिदान गरिन् ।
यसैगरी देवी कार्की, इन्दिरा (भान्से), ब्रम्हचारी नारायण फलारी बाबा, नेपाली कांग्रेस केन्द्रीय कार्यालय, खिनाकुमारी श्रेष्ठ, पतञ्जली योग समिति, नेवा पुचः नारायणगढ, विष्णुमाया श्रेष्ठ, दिव्यराज श्रेष्ठ, युनिभर्सल पिस फेडेरेसन, नेपाली कांग्रेस चितवन, नेपाल प्रेस युनियन चितवन लगायतका संस्था र व्यक्तिलाई पनि उनले करोडौंं मूल्य बराबरको जग्गा दान गरेको पुस्तकमा उल्लेख छ । उनका धर्मपुत्र टंकनाथ पौडेलले अहिले हिसाब गर्दा आमाले दान गरेका जमिनको मूल्य एक अर्ब बढी हुने बताए ।
पछिल्लो समय उनको नाउँमा मैयाँदेवी ट्रस्ट खोलिएको छ । नारायणगढको आफ्नो घरजग्गालाई उनले ट्रस्टको लागि प्रयोग गरेको छ । देवघाटमा रहेको ट्रस्टका लागि जग्गा र भवनको व्यवस्था गरेको छ । जीवनभर अविवाहित रहेकी श्रेष्ठले समाजसेवालाई सर्वोपरी ठानी गरेको योगदानको कदरस्वरूप विभिन्न संघ संस्थाले सम्मान गरेका छन् ।
उनलाई तत्कालीन श्री ५ वीरेन्द्र वीरविक्रम शाहबाट समाजसेवा पदक, सनातन धर्म सेवा समितिमार्फत् राष्ट्रिय सम्मान, जेपी प्रतिष्ठानबाट अभिनन्दन, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिबाट कदरपत्र, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट सम्मान, तत्कालीन श्री ५ अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहबाट ग्रिनअनर सम्मान प्राप्त गरेको छ ।
यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयबाट चन्द्राकान्ता राष्ट्रिय महिला शिक्षा सेवा पुरस्कार, नेतृत्व र सुशासनबाट छैठौं विश्व सम्मेलनको अवसरमा जापानको टोकियोमा एम्बेस्डर फर पिसबाट सम्मानित भएकी छिन्। आफूले प्राप्त गरेका सम्मान तथा पुरस्कारको राशि पनि उनले समाजसेवामा नै खर्च गरेकी छिन् ।
औपचारिक शिक्षा प्रवीणता प्रमाणपत्र तहसम्म गरेकी उनी २०४८ सालमा प्रतिनिधिसभा सदस्य, २०५८ सालमा राष्ट्रियसभा सदस्य र २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् सदस्य हुन् । नेपाली, नेवारी, हिन्दी र अङग्रेजी भाषामा दख्खल राख्ने उनले इजरायल, भारत, बंगलादेश, चीन, थाइल्याण्ड, हंकङ्, कोरिया, अमेरिका, क्यानडा, बर्मा, इटली, पाकिस्तान, जापान, स्विट्जरल्याण्ड, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, बेलायत र कतारजस्ता देशको भ्रमण गरेकी छिन् ।
स्वाध्ययन, अध्यात्म चिन्तन, सामाजिक सुधार र सद्भावका लागि राजनीति भन्ने श्रेष्ठको आफ्नो पूर्ण जीवन समाज र राजनीतिमा बित्यो । चितवनलाई मानवबस्ती बसाउन उनको महत्त्वपूर्ण योगदान छ ।