जनप्रतिनिधि हुनु त यस्तो : बाँझो बारीमा किवी, वर्षमै लाखौं आम्दानी

बलेवा । गाउँमा काम गर्ने जनशक्तिको अभाव छ । युवापुस्ता पालयन हुने र गाउँमा भएका वृद्ध तथा बालबालिकाले खेतबारीको काम गर्न सक्दैनन् । वर्षभरि दुःख गरेर छ महिना खान नपुग्ने भएपछि गाउँका बारी बाँझै राखेर सहर पस्नेको कमी छैन ।

यो समस्या बागलुङका हरेक बस्तीमा छ । जनशक्तिको अभावमा बारी बाँझो राख्न बाध्य भएका एउटा पात्र हुन् काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछाने । पाँच वर्षअघि वडाध्यक्षमा निर्वाचित भएपछि उनले पनि बारी बाँझै राखे । आफू जनप्रतिनिधि भएकाले २४ घण्टा वडावासीको काममा खट्नुपर्ने, श्रीमतीले जागीर गर्ने र वृद्ध बाबुआमाले काम गर्न नसक्ने भएपछि उनको बारी बाझिँदै थियो तर बारीलाई बाँझै राख्न उनलाई पटक्कै मन लागेन ।

अरुको बाँझोबारीमा समेत खेती गर्न लगाउनुपर्ने जिम्मेवारी पाएका व्यक्तिले आफ्नै बारी बाँझो राख्दा उनका अघि स्वभाविक प्रश्न थियो । त्यसैले वैकल्पिक खेतीको खोजीमा लागेका वडाध्यक्षलामिछानेले अहिले भने त्यही बाँझिन थालेको बारीबाट लाखौं कमाइ गर्न थालेका छन् ।

काठेखोला गाउँपालिका–७ रेशमा रहेको उनको घर वरिपरि किवीको बगान छ । दुई रोपनी बारीमा लगाएको किवी लटरम्म फलेको छ । मध्यम खालका एकनासका किवी दाना मनोरम देखिन्छन् । ‘चार÷पाँच वर्ष पहिले बिरुवा लगाएको हुँ, पोहोर पातलो फल्यो, अहिले राम्रो फलेको छ’, उनले भने, ‘वैकल्पिक खेती गर्दा उत्पादन लिन केही वर्ष त कुर्नैप¥यो ।’ उनले दुई रोपनी बाँझो बारीमा ४५ किवीका बिरुवा लगाएका छन् । तिनै बिरुवामा यस वर्ष सात सय किलो किवी फलेको उनले बताए ।

‘दुई क्विन्टल त बिक्री भइसके, अझै पाँच क्विन्टल जति बोटमै छन्’, उनले भने, ‘बजारको समस्या नहोस् भनेर एकैपटक टिपेनौं ।’ पाँच सय प्रतिगोटा खरिद गरेका ४५ बिरुवाले गत वर्ष नै लगानी उठाएको उनले बताए । बगानमा किवीको बिरुवालाई आड दिन गत वर्ष ७० हजार खर्चेर उनले टहरा बनाएका छन् ।

उनका बगानमा फलेका किवी बागलुङ बजारमा बिक्री भइरहेका छन् । प्रतिकिलो दुई सय ५० मा आफ्नै कोठाबाट किवी बिक्री गर्दै आएको उनकी श्रीमती कमला लामिछानेले बताइन् ।

यस वर्ष मात्रै किवीको बिक्रीबाट दुई लाख बढी आम्दानी हुने उनले बताए । बहुवर्षे बाली भएकाले बेला बेलामा सिँचाइ र मलको प्रबन्ध गर्दा मात्रै अरु धेरै वर्ष किवीबाट उत्पादन लिन सकिने उहाँको भनाइ छ । त्यहीँ बारीमा कोदो र मकैको खेती गर्दा खर्च उठाउन कठिन हुने गरेको अनुभवसमेत उनीसँग छ ।

उनले वडा कार्यालयको तर्फबाट किसानलाई अनुदानमा किवीका बिरुवासमेत हरेक वर्ष बाँड्दै आएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स