२३ करोड रुपैयाँ हिनामिना गरेपछि सुुपर लघुवित्तलाई टेकओभर गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने भएको छ । राष्ट्र बैंकले माग गरेको स्पष्टिकरण विवरण पेश नगरेपछि सुुपर लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकले टेकओभर गर्न लागेको हो ।

राष्ट्र बैंकले गत भदौ २२ गते सुुपर लघुवित्तलाई सचेत गराउँदै ३५ दिनको समयसीमा दिएर स्पष्टिकरण सोधेको थियो । राष्ट्र बैंकले त्यति नै बेला समस्याग्रस्त घोषणा गर्दै चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । तर, सुपर लघुवित्तले ३५ दिन बित्दा पनि माग गरिएको बमोजिमको स्पष्टीकरण पेस नगर्दा राष्ट्र बैंकले टेकओभर गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका प्रमुख तथा कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले लघुवित्तले राष्ट्र बैंकले माग गरेअनुसारको डकुमेन्ट नबुझाएको बताए ।

हाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार र डेपुटी गभर्नर बमवहादुर मिश्र देश बाहिर भएका कारणले टेकओभर गर्ने निर्णय हुन नसकेको हो । गभर्नर र डेपुटी गभर्नर दुबै जना शुक्रबार नेपाल फर्कने भएकाले सम्भवत आइतबार सुुपर लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंक बोर्ड बैठकले टेकओभर गर्ने निर्णय गर्न सक्नेछ ।

राष्ट्र बैंकको स्थलगत निरीक्षण तथा विशेष निरीक्षणबाट संस्थाका अध्यक्षलगायतले नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेको पाइएको थियो । २३ करोडभन्दा बढी रकम हिनामिना भएको पाएको थियो। संस्थाले नक्कली ऋणी खडा गर्नुका साथै निक्षेप पनि नक्कली उठाएको बनाएको थियो ।

\राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले गत आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरणको आधारमा संस्थामा दोस्रो त्रैमासमा निरिक्षण गरेको थियो । निरिक्षणको क्रममा संस्थाका अध्यक्ष र अन्य संचालकहरूले नक्कली ऋणी खडा गरी २३ रुपैयाँ कर्जाको दुरुपयोग गरेको पुष्टी गरेको थियो । राष्ट्र बैंकले विभिन्न समयमा गरेको निरिक्षणले संस्थाको वित्तीय अनुसासन समेत कमजोर देखाएको स्रोत बताउँछ ।

‘निरिक्षणमा वित्तीय सुसाशन कमजोर, प्राय ऋणी फर्जी खडा गरिएको र फर्जी ऋण चुक्ता गर्ने डिपोजिट पनि फर्जी नै देखाइएको राष्ट्र बैंकको निरिक्षणले देखाएको छ । लघुवित्तले धेरै शंकास्पद कारोबार देखिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले २०७८ चैत पहिलो साता बैंकिङ कसुर हुन सक्ने भनेर प्रहरीमा जाहेरी दिएको थियो । उक्त समयमा संस्थाको पुँजी कोष अनुपात समेत १०.३१ प्रतिशतले ऋणात्मक भइसकेको थियो । सोही समय नै राष्ट्र बैंकले संस्थालाई समस्या ग्रस्त घोषणा किन नगर्ने भनेर शीघ्र सुधारको कारवाही गर्दै स्पष्टिकरण सोधेको हो ।

लघुवित्ति सुपरिवेक्षण विभाग पुनः गत असार महिनामा बैंकिङ कसुर समेतको निरिक्षण गर्ने प्रहरी सहित संस्थामा पुगेको थियो । प्रहरी सहितको निरिक्षणमा संस्थाको संचालकहरुले नै नियोजित रुपमा ठूलो आर्थिक हिनामिना गरेको पुष्टी भएको छ ।

‘ऋण दिएको कुनै पनि प्रमाण, कागजात संस्थामा नहुने, ऋणी, निक्षेपकर्ता र सदस्यहरु नै फर्जी तयार पारिएको भेटियो, यस्ता काम सबै संचालकहरुले नै मिलेर गरेको देखियो,’ स्रोतले भन्यो, ‘संस्थामा सुसाशन, आन्तरिक नियन्त्रण नभएको, आन्तरिक लेखा परिक्षण समेत राम्रोसँग नगराइएको भेटिएको थियो ।’

हाल सुपर लघुवित्तका कामु सीईओ बुद्धिराम चौधारी, तुलसीपुर शाखाका प्रमुख सञ्जीव चौधरी, बिजौरी शाखाका प्रमुख यशोदा थापा र कुसुम चौधरी प्रहरी नियन्त्रणमा छन् । सुपर लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ ।

यो संस्था कम्पनी ऐन २०६३ बमोजिम २०७५ चैत २४ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भई २०७६ पुुसमा फिंगोबाट लघुवित्तमा परिणत भएको थियो । सोही संस्थाको नाम सुपर लघुुवित्त थियो । लघुवित्त सुपरिवेक्षण टोलीको निरिक्षण प्रतिवेदन अनुसार संस्था फिंगोबाट लघुवित्त हुँदा नै फर्जी हिसाब किताब गरेको देखिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स