ऊनका कपडाको माग नेपालमा भन्दा विदेशमा बढी

ढोरपाटन । अहिले पनि बागलुङको माथिल्लो क्षेत्रमा पुग्दा स्थानीयवासीले हापदुला, काम्लो, बख्खु, घुम (भेडाको ऊनबाट बनेको कपडा) लगाउने गरेको देखिन्छ । उच्च पहाडी क्षेत्रमा बाह्रै महिना चिसो हुने हुँदा यहाँका बासिन्दाले यस्ता कपडा लगाउने गरेका हुन् । घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने हुँदा उनीहरुले ऊनको कपडा बढी प्रयोग गर्छन् । यहाँका अधिकांश स्थानीयवासीले सयौंको सङ्ख्यामा भेडापालन गर्ने हुँदा उनीहरुले ऊनबाट कपडा बनाउने पनि गर्दै आएका छन् ।

निसी, भुजी र तमान क्षेत्रमा बढी प्रख्यात भेडाका कपडा विदेशसम्म पनि पुग्ने गर्छ । कपडा र मासु दुवैका लागि भेडा उपयुक्त हुनेहुँदा भेडापालकले राम्रो आम्दानीसमेत गर्दै आएका छन् । मासु स्थानीयस्तरमै बिक्री हुने गरे पनि त्यसबाट बन्ने कपडा देशविदेशमा निर्यात हुने गर्दछ । ऊनबाट बन्ने कपडाको माग नेपाली बजारमाभन्दा विदेशमा बढी हुने गरेको उनीहरुको भनाइ छ । युवापुस्तामा ऊनबाट कपडा बुन्ने सीप नभए पनि बुढापाकाले भने निरन्तरता दिँदै आएका छन् ।

तमानखोला गाउँपालिका– ३ तमान गाउँकी छलीमाया बुढाथोकी ६६ वर्षको छिन् । उनले अहिले पनि चर्खामा ऊन घुमाउने र काम्लो, हापदुलालगायत भेडाको रौंबाट कपडा बनाउँदै आएका छन् । ऊनबाट बन्ने कपडा सानैबाट बनाउन सिक्दै आएकी छलीमायाले यो सीप आमाबाट सिकेको हो तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनको गुनासो छ ।

आफूहरु सानो हुने बेला सिरक, डसना र कपडा नहुने भन्दै भेडाको रौंबाटै डसना र सिरक बनाएर प्रयोग गरेको स्मरण छलीमायाले गरिन् ।

ढोरपाटन–९ की फूलकुमारी पुनमगर अहिलेका पुस्ताले परम्परागत सीप नसिकेकामा चिन्तित छिन् । उनले भनिन्, ‘जमाना फेरियो, चाल चलन फेरियो, मान्छेको आनीबानी फेरियो, त्यसले गर्दा पुराना कला र सीप पनि फेरिए । हाम्लेजस्तो काम अहिलेकाले गर्नै छोडे, मैले पहिले महिनामा दुईदेखि चार वटासम्म बख्खु बुन्ने गर्थे, अहिले प्रयोग कम हुँदै गएपछि मैले बुन्न पनि छोडें ।’

रौंबाट बन्ने कपडा नेपालमाभन्दा विदेशमा बढी माग हुने गरेको फूलकुमारीको भनाइ छ । ‘पछिल्लो समयमा भेडापालन गर्नेको सङ्ख्यासमेत घट्दै गएपछि ऊनको आपूर्ति नहुने हुँदा कम मात्रै उत्पादन हुने गरेको छ’ उनले बताए, ‘काम्लो, हापदुलाको माग अहिले नेपालमा निकै कम छ तर विदेशमा निकै बढी छ, मूल्य पनि राम्रो मिल्ने गर्छ, अहिले गाउँमा भेडा पाल्ने पनि घटे त्यही भएर ऊनको व्यवस्थापन गर्न पनि गाह्रो हुँदै आएको छ ।’

पहिले एक जनाले कम्तीमा दुई सयदेखि चार सयसम्म भेडा पाल्ने गरेकामा अहिले गाउँका केही व्यक्तिले मात्रै भेडा पाल्ने गरेको फूलकुमारीकोे भनाइ छ । ‘उतिबेला गाउँका धेरै मान्छेले भेडाबाख्रा पाल्ने गर्थे, एउटा व्यक्तिले कम्तीमा दुई सयदेखि चार सय भेडा पाल्थ्यो, कपडा पनि बनाउने, मासुका लागि पनि बेच्ने गर्थे, अहिले त मासु खानका लागि मात्रै थोरै पाल्ने गर्छन्’, उनले बताए, ‘पछिपछि त भेडापालन गर्ने मान्छे भेट्टाउनै मुस्किलपर्ने छ, भेडा पनि लोप हुन लागेका छन् ।’

ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम सात हजारदेखि ५० हजारसम्म पर्ने गरेको स्थानीयवासीको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको निसीखोला गाउँपालिका– ५ की पुतली विकले बताए । पछिल्लो समय ऊनका कपडाको उत्पादन कम हुँदै गएकाले मागसमेत घटेको र आधुनिक प्रविधिका बजारमा आउने आयातित कपडाले गर्दा ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ ।

स्थानीयस्तरमा भएका सीप पहिचान गरी गाउँपालिकाले नयाँ पुस्तालाई सिकाउन सके वर्षौंसम्म ऊनका कपडा उत्पादन हुने र स्थानीयवासीले पनि राम्रो आम्दानी गर्न सक्ने उल्लेख गर्दै पुतली स्वदेशमा बढीमा ३० हजारसम्म पर्ने ऊनको कपडालाई विदेशमा ५० हजारदेखि एक लाखसम्मपर्ने बताए ।

उनले भने, ‘ऊनको कपडाको मूल्य निकै बढेको छ, स्वदेशमा भन्दा विदेशमा यसको माग पनि बढी भएको हुँदा न्यून आय भएका नागरिकलाई गाउँपालिकाले यो सीप सिकाएर, आयआर्जनसँग जोड्नसके राम्रो हुने थियो, गरिबको जीवनशैली पनि बदलिने थियो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स