३२२ दिनका लागि निरन्तरता पाए हिमालयन रि–इन्स्योरेन्सका सीईओ रामामुथी

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्स कम्पनीको सीईओ चन्द्रशेखरन रामामुर्थीलाई पुनः दोस्रो पटक सीईओमा नियुक्त गरेको छ । समितिले दशैं अघि नै उनलाई ३२२ दिनका लागि उक्त कम्पनीको सीईओ बन्न सक्ने गरी पुनः नियुक्ति दिन स्वीकृत दिएको हो । बीमा समितिको स्वीकृतिसँगै उनी अब आगामी भदौं ३ गतेसम्म हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओ बन्नेछन् ।

उनको उमेरहदका कारण ३२२ दिनका लागि हिमालयन रि–इन्स्योरेन्सको सीईओ बन्न पाउने गरी नियुक्ति गर्न स्वीकृत दिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

नेपालका ठूलो औद्योगिक घरानाको लगानी रहेको र नेपाली बीमा बजारमा दोस्रो पुर्नबीमा कम्पनीको रुपमा स्थापना भएको हिमालयन रि–इन्स्योरेन्सको १० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीमा संस्थापकले ७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीमा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ५०/५० करोड अर्थात ७.१४ प्रतिशत लगानी रहेको छ । कम्पनीका अनुसार उक्त इन्स्योरेन्समा सबैभन्दा बढी लगानी एम्बर प्रोभेस्टमेन्टको समग्र लगानीको ९.६९ प्रतिशत अर्थात ६७ करोड ८५ लाख रुपैयाँको लगानी छ ।

कम्पनीमा शंकर ग्रूपको कम्पनीको सबैभन्दा बढी लगानी छ । कम्पनीमा महासंघ अध्यक्ष शेखर गोल्छाको कम्पनीदेखि, पशुपति मुरारका परिसंघका निवर्तमान अध्यक्ष शतिष मोर, कान्तिपुर मिडिया ग्रूपका कैलाश सिरोहियासम्मको लगानी रहेको छ ।

इन्फिनिटी होल्डिङ्सको ६.४३ प्रतिशत अर्थात ४५ करोड, जगदम्बा मोटर्सको ४.५७ प्रतिशत अर्थात ३२ करोड, गणपति वनस्पतिको ३.२१ प्रतिशत अर्थात २२ करोड ५० लाख, जगदम्बा स्टिलको ३.१४ प्रतिशत अर्थात २२ करोड सेयर स्वामित्व रहेको छ । जगदम्बा मोटर्स तथा जगदम्बा स्टिल शंकर ग्रूपको कम्पनी हो । शंकर गू्रपले कम्पनी मार्फत सबैभन्दा बढी लगानी हिमालयन रिमा गरेको छ ।

यस्तै विकास दुर्गाको २२ करोडको अर्थात ३.१४ प्रतिशत रहेको छ भने हंसराज हुलासचन्द एण्ड कम्पनीको २० करोड अर्थात २.८६ प्रतिशत, सफारोन सिके इन्भेष्टमेन्ट २.८६ प्रतिशत अर्थात २० करोड, आरएमसी कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेटको २.१४ प्रतिशत अर्थात १५ करोड तथा शशिकान्त अग्रवालको २.१४ प्रतिशत अर्थात १५ करोड रुपैयाँ लगानी छ ।

कम्पनीको १.९३ प्रतिशत अर्थात १३ लाख ५० हजार र ११ कम्पनी तथा व्यक्तिको १.४३ प्रतिशत अर्थात १० करोड रुपैयाँ लगानी रहेको छ । कम्पनीमा पशुपति मुरारकाको १.०४ प्रतिशत अर्थात ७ करोड २५ लाख र सिरिश कुमार मुरारकाको पनि १.०४ प्रतिशत अर्थात ७ करोड २५ लाख रुपैयाँको लगानी छ ।

१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणको लागि ३ अर्ब रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स