काठमाडौं । देशमा सञ्चालित पब्लिक कम्पनीमध्य केहि कम्पनीले भने तिहार अघि नै सेयरधनीलाई लाभांश दिने भएका छन् । दशैँ सकिए लगत्तै बैंक, बीमादेखि अन्य कम्पनीहरूले लाभांश वितरण गर्न लागेका हुन् ।
नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजना र गुराँस लाइफ इन्स्योरेन्सलगायतका कम्पनीले दशैँ र तिहारको बीचको समयमा आफ्नो सेयर धनीहरुलाई लाभांश वितरण गर्ने भएका हुन् । नेपाल ल्युब आयल, सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण लागेको हो भने गुराँस लाइफले आव २०७६÷७८ को मुनाफाबाट लाभांश दिन लागेको हो ।
लाभांश पारितको मुख्य एजेण्डासहित नेपाल ल्यूब आयलले असोज २८ गते नै साधारण सभा बोलाएको छ । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको सञ्चित मुनाफबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
सिटिजन्स बैंकले आउँदो कात्तिक ४ गते साधारण सभाको मितितय गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफबाट १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने जनाएको छ ।
रुरु जलविद्युत परियोजनाले पनि आउँदो कात्तिक ४ गते नै साधारण सभा बोलाएको छ । सभाले गत आव २०७८÷७९ को मुनाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने एजेण्डा राखेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ७.८३ प्रतिशत लाभांश वितरण गर्न कात्तिक ४ गते नैसाधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
यी बाहेक नेप्सेमा सूचीकरण भएका अन्य कम्पनीले भने लाभांश प्रस्ताव गरेका छैनन् भने साधारणसभाको मिति तय भएको छैन । यसरी हेर्दा तिहार अघि लाभांश दिने यी चार कम्पनीमात्रै देखिएका छन् । यो वर्षको तिहार १० कात्तिकमा परेको छ । लाभांश वितरणका लागि कम्पनीहरूले तिहारअघि नै साधारण सभा बोलाएका छन् ।
कुमारी बैंकले पनि गत आवको मुनाफाबाट १२.५० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको साधारण सभा बोलाउने छ ।