अकबरे खुर्सानीको अचार बेचेर लाखौं आम्दानी

काठमाडौं । रामेछाप नगरपालिकास्थित सुकाजोरका किसानले अकबरे खुर्सानीको अचार बेचेर लाखौँ आम्दानी गर्ने गरेका छन् । रामेछाप–७ मा अकबरे खुर्सानीको अचार उद्योग नै सञ्चालन गरी त्यहाँका कृषकहरुले मनग्य आम्दानी गर्र्ने गरेका हुन् ।

सुरुमा आफूले घरायसी प्रयोग गर्ने गरी उत्पादन सुरु गरेको भए पनि पछि गएर त्यसलाई व्यावसायिक रुपमा अचार उद्योग सुरु गरेको कृषक चुडाबहादुर कार्की बताए । उनले आफ्नो पाँच रोपनी जग्गामा २ हजार अकबरे खुर्सानीको खेती गरेर अचार उद्योग सञ्चालन गरेका छन् । उनले अकबरेका अलावा निबुवा, कागती, करेला, मूला, अमलालगायत विभिन्न प्रकारका कच्चापदार्थहरु जम्मा गरी अचार बनाएर बिक्री गर्ने गरेको जानकारी दिए ।

उनले अचार बेचेर नै वार्षिक १५ लाखसम्म आम्दानी गरेका छन् । गाउँमा सामूहिक रुपमा पनि अकबरे खुर्सानी खेती गरिएको छ । यो खुर्सानीले बेफाइदा नगर्ने भएकाले पनि गाउँका अधिकांश कृषकहरू यस खेतीतर्फ लागेका छन्, कम मेहनत र खर्चमा यो खुर्सानी उत्पादन हुने र उत्पादन भएको खुर्सानी गाउँमै खपत हुने भएपछि स्थानीयहरूको यस खेतीप्रति आकर्षण बढेको हो । अकबरे खुर्सानीको अचारको मुख्य बजार रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र काठमाडौं भएको पनि कार्की बताए ।

उनले भने ‘अहिले गाउँमा खुलेको अचार उद्योगले गाउँमा उत्पादन भएका जम्मै खुर्सानी खरिद गरिदिन थालेपछि गाउँलेहरू अधिकांशले यसको खेती गरिरहेका छन् । आफ्नो उमेर ढल्कँदै गएको र यस पेसालाई निरन्तरता दिइयोस् भनेर गाउँका अरू कृषकहरुलाई पनि यो सीप सिकाउने गरेको छु ।’

उमेरले ६५ लागेका कार्कीको सीप र जाँगरमा कुनै कमी देखिँदैन । कहिले कोभिड र कहिले डेङ्गुको महामारीले गर्दा व्यवसायमा कमी आउने गरेको भए पनि उनी उत्साहित भएर आफ्नो कर्ममा लागिरहेका छन् । नौवटा वडा रहेको नगरपालिकामा बढी जसो खुर्सानी, अदुवा र जुनार उत्पादन हुने हुनाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा नगरपालिकाले यसलाई जुनार जोनका रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स