ड्रागन फल खेतीबाट मनग्य आम्दानी, कस्तो छ सम्भावना ?

काठमाडौं । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका कृषक शम्भुप्रसाद नेपालले फलफूल खेतीबाट राम्रो आम्दानी गर्नु भएको छ । उनले व्यावसायिक ड्रागन फल र कागती खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी गर्दै आएको बताए ।

सुक्खा क्षेत्रमा पनि राम्रो उत्पादन हुने भएपछि किसानले ड्रागनको व्यावसायिक खेती गरिरहेका छन् । दश वर्षअघिबाट व्यावसायिक खेती गरेका उनले एक हजार पाँच सय पिलरमा ड्रागन लगाएका थिए ।

अहिले तीन सय ओटा पिलरमा लगाएको ड्रागनले उत्पादन दिन थालेको छ । ८५० केजी बिक्री गरिसकेको र एक हजार केजीको हाराहारीमा टिप्न बाँकी रहेको नेपालले जानकारी दिए । त्यस्तै नेपालले १८ रोपनी क्षेत्रमा कागतीको व्यावसायिक खेती गरेका थिए । रहनुभएको छ । फलफूल खेतीबाट वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको कृषक नेपालले बताए ।

‘फलफूल खेतीबाट राम्रै आम्दानी गरिरहेको छु’, उनले भने वर्षमा १२ लाखसम्म आम्दानी हुन्छ । विस्तार गरेको सबै ठाउँबाट उत्पादन हुने हो भने अझ आम्दानी बढ्छ ।’ कृषक नेपालले अहिले आफ्नो पुर्खौली भूमिमा करीब १७ रोपनी क्षेत्रफलमा डा«गन फल लगाएका छन् । ड्रागन फल रातो प्रतिकेजी ५ सय र सेतो प्रतिकेजी ४ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

त्यस्तै कागती फार्मबाट प्रति केजी १ सयमा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको फल स्थानीय बजारसँगै काठमाडौँ जाने गरेको छ । सडकको कारण बजारसम्म पु¥याउन भने सास्ती हुने गरेको कृषक नेपालको भनाइ छ । कच्ची सडक वर्षातले हिलाम्य हुँदा उत्पादित वस्तुलाई ढुवानीमा समस्या छ ।

‘मैले यहाँको उत्पादनलाई बढी मात्रामा काठमाडौँ पठाउने गरेको छ,’ कृषक नेपालले भने ‘बजार माग राम्रो छ । तर सडकको कारणबजारसम्म लैजान समस्या छ । सडक राम्रो भए अझ राम्रो आम्दानी लिन सकिन्थ्यो ।’ नेपालले ‘दानाबोटे फलफूल तथा कृषि फर्म’ दर्ता गरेर व्यावसायिक फलफूल खेती थालेका हुन् ।

जिल्लामा पहिलो पटक व्यावसायिकरुपमा ड्रागनको खेती सुरु गरेका नेपाल उदाहरणीय कृषकको रुपमा परिचित छन् । उनले २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्केर व्यावसायिक खेतीमा लागेको सुनाए । व्यवसाय गर्नको लागि विराटनगरमा रहेको घर बिक्री गरेर गाउँ आएको उनको भनाइ छ ।

‘२२ वर्ष विराटनगर बसेँ । गाउँ फर्केर व्यावसायिक खेतीमा लागेको छु । गाउँमा फर्केर आएर खेती गर्दा यहाँका साथीहरुले धेरै थरीका कुरा पनि गरे । अहिले म व्यवसायमा सफल बन्दै गएको छु ।’ आफैँले यसको बिरुवा उत्पादन थालेको नेपालको भनाइ छ । ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनको भनाइ छ ।

के के फाइन्छ ड्रागन फलमा
पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममा भण्डारण गर्न सकिने हुनाले चाँडो बिग्रने समस्या हुँदैन । प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने विज्ञ बताउँछन् । प्राविधिकका अनुसार रोपेको दुई वर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । ड्रागनको एउटै बोटबाट धेरै वर्षसम्म फल लिन सकिने नेपालको भनाइ छ । आफ्नो फर्ममा तीन सय ग्रामदेखि नौ सय ग्रामसम्मको फल फलेको उनको भनाइ छ ।

व्यावसायिकरुपमा खेती गरिरहेको भए पनि राज्यको तर्फबाट सहयोग नपाएको उनले गुनासो गरे । आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरे पनि अन्य सहयोग नपाएको उनको भनाइ छ । कृषक नेपालले भने ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन् । सरकारबाट खास सहयोग पाएको छैन् । फार्मसम्म आउनको लागि सडक नहुँदा डोकोमा बोकेर सडकसम्म लैजाने गरेको छु ।’ गाउँका अन्य कृषकलाई समेत व्यावसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको उनको भनाइ छ ।

कहाँ गर्न सकिन्छ ड्रागन फलको खेती
सिउडी प्रजातिको फल भएकाले यसको खेतीका लागि त्यति धेरै पानी, मलखाद र हेरचाह आवश्यक पर्दैन । यसको खेतीको लागि दक्षिण मोहडा भएको प्रशस्त घाम लाग्ने जमिन उपयुक्त हुने गर्दछ । समुद्री सतहदेखि एक हजार पाँच सय मिटरसम्म उचाइमा खेती गर्न सकिन्छ । कम सिँचाइमा पनि उत्पादन दिने भएकाले सुक्खा क्षेत्रमा पनि खेती गर्न सकिने कृषक बताउँछन् ।

कस्तो चाहिन्छ माटो ?
यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । ड्रागन फल औषधियुक्त गुण भएकाले स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । फलको स्वादमा गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । खेतीको लागि निकासयुक्त, प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको बलौटे, दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त हुने कृषकको भनाइ छ

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स