असोज २४ र २५ गते नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समीट हुने

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक नेपाल ग्रीन हाइड्रोजन समिट ( एनएचजीएस) आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी वृहत् सम्मेलन आयोजना गर्न लागेको हो ।

एमआईटी ग्रुप फाउण्डेसन , ग्लोबल एनआरएन फाउन्डेसन , नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल सरकार , ऊर्जा , जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा नेपाल ग्रीन हाइड्रोजन समीटको आयोजना गर्न लागेका हुन् । ताहाचलस्थित होटल सोल्टी काठमाडौंमा आयोजना हुने सम्मेलनको मुख्य नारा ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिदै गरेका हिमालका लागि एन्टिडोट’ रहेको छ । हरित हाइड्रोजनको उत्पादन , भण्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने लक्ष्य सम्मेलनले लिएको छ ।

नेपालमा यसअघि यस्तो सम्मेलन भएको छैन । त्यस अर्थमा यो हरित हाइड्रोजन सम्बन्धी पहिलो सम्मेलन हो । सम्मेलनले नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र हाइड्रोजनको के कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस , विश्लेषण गर्ने उद्देश्य लिइएको छ ।

योसंगै नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी उजी र सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य सम्मेलनको छ । सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व , विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि , नेपाल विकास साझेदार , बहुपक्षीय अन्तर्राष्ट्रिय समुदाय , संयुक्त राष्ट्रसंघीय एजेन्सी , विदेशी दुतावास , अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । सम्मेलनले मुख्यरूपमा निम्न उद्देश्य लिएको छ ।

१. नेपालमा हरित हाइड्रोजनको उत्पादन , भण्डारण र वितरण क्षमताको अध्ययन गर्ने ,

२. नेपालमा हरित अमोनियाबाट रासायनिक मल उत्पादनको सम्भावना र क्षमताको बारेमा विश्लेषण गर्ने ,

३. अन्तराष्ट्रिय वक्ताहरूले हरित हाइड्रोजन उत्पादनका लागि लाग्ने लागत , प्रयोग हुने प्रविधि र ग्लोबल ट्रेन्डको बारेमा जानकारी दिने ,

४. हरित हाइड्रोजन र युरिया उत्पादनमा ठूलो मात्रामा निजी लगानी आकर्षित गर्ने ,

५. दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने , हरित तथा जलवायु मैत्री हरित हाइड्रोजन योजनालाई प्राथमिकतामा राख्ने ,

६. उर्जाको सहज प्रसारण सम्बन्धी नीतिको रोडम्याप तयार गर्न नेपाल सरकारलाई सघाउने ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रुपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी नेपालले पर्यावरणीय समस्याहरुको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरु पत्ता लगाउन पनि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले जल विद्युतको प्रयोग गरी हरित हाइड्रोजनको उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ त्यस सम्बन्धी नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी , वैदेशिक प्रत्यक्ष लगानी , निजी क्षेत्रको थप संलग्नता , प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स