५० करोडभन्दा बढी निर्यात गर्नेले ८ प्रतिशतसम्म निर्यात अनुदान पाउने गरी संशोधन भयो कार्यविधि

काठमाडौं। सरकारले निर्यात अनुदान कार्यविधि संशोधन गरेको छ । ५० करोड रपैयाँभन्दा बढी निर्यात गर्नेले ८ प्रतिशतसम्म अनुदान पाउने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरेको निर्यात अनुदान कार्यविधि मन्त्री परिषद्ले स्वीकृत गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आयातको तुलनामा निर्यात अति कम भएपछि निर्यात बढाउन बजेटमार्फत निर्यातमा ८ प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए । सोही अनुरुपको कार्यविधि मन्त्री परिषदले स्वीकृत गरेको हो । निर्यात अनुदानमा २६ वटा वस्तु समेटिए पनि सबै वस्तु निर्यातकर्ताले अनुदान पाउन सकेको छैनन् । कार्यविधिमा भएका कडा शर्तको कारण सो शर्त पुरा गर्न नसक्दा उद्यमीले अनुदान पाउन नसकेका हुन् ।

आर्थिक वर्ष २०७९÷८० को बजेटमा उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा तथा विजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरू पहिचान गरी निर्यात गर्नेलाई ८ प्रतिशत निर्यात अनुदान दिने उल्लेख छ ।

संशोधन भएको कार्यविधिलाई वाणिज्य सचिव तोयम रायले हस्ताक्षर गरी राजपत्रमा प्रकाशित गरेपछि सो कार्यविधि कार्यान्वयनमा जानेछ ।

के भयो कार्यविधिमा संशोधन

कार्यविधि अनुसार न्यूनतम अनुदान ४ प्रतिशत तोकिएको छ । निर्यात अनुदान पाउनको लागि कार्यविधिले तोकेको मापदण्ड पुरा पुरा गर्नुपर्ने छ ।

४ प्रतिशत अनुदान पाउनका लागि निर्यात गरिएको वस्तुले ३० प्रतिशत मूल्य वृद्धि (भ्यालु एडिसन) गरेको हुनुपर्नेछ । यदि सो भन्दा कम मूल्य अभिवृद्धि गरेको छैन भने अनुदान पाउन योग्य हुने छैनन् । यदि मूल्य अभिवृद्धि ५० प्रतिशतसम्म छ भने ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।

यस्तै ७० प्रतिशत मूल्य अभिवृद्धि छ भने ६ प्रतिशत अनुदान पाउनेछन् । यस्तै राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्कमा दर्ता भई कुनै कम्पनीले निर्यात गर्छ भने ७ प्रतिशतसम्म निर्यात अनुदान प्राप्त गर्न सक्नेछ ।

कुनै कम्पनी तथा उद्योगले गत आर्थिक वर्षभन्दा २० प्रतिशत बढी निर्यात गर्छ भने अनुदानका लागि थप योग्य हुने कार्यविधिमा उल्लेख गरेको छ । कुनै कम्पनीले ५० करोडभन्दा बढीको निर्यात गर्छ भने ५० करोड पछिको निर्यातमा सिधै ८ प्रतिशत अनुदान प्राप्त गर्नेछ । तर, पहिलो ५० करोडसम्ममा भने अघिल्लो सीमा अनुसार नै अनुदान सुविधा पाउने छ ।

अनुदान सहज रुपमा लिनका लागि आवेदन अनलाइनबाटै दिन सकिने व्यावस्था कार्यविधिले गरेको छ। यसअघि २०६७/६८ को बजेटमार्फत निकासी प्रवर्द्धनका लागि नगद अनुदान दिने व्यवस्था गरिएको थियो। सो व्यवस्थाअनुसार नगद अनुदान दिन २०७० सालमा कार्यविधि आएको थियो। त्यही कार्यविधिअनुसार नेपालबाट निकासी हुने वस्तुमा नगद अनुदान दिइँदै आएको छ ।

फरक वस्तुमा फरक अनुदान
यो कार्यविधिमा १५ वटा वस्तुमा ५ प्रतिशत अनुदान दिइएको छ । प्रशोधित चिया, कफी, क्रष्ट, पत्थर, पत्थर जडित गरगहना, हस्तकला र काष्ठकलाका वस्तु हुन् ।

हाते कागज तथा सोबाट उत्पादित सामान, अल्लोबाट उत्पादित सामानहरु, मिनरल वाटर, बेसार, तरकारी तेस्रो देशमा निकासी गरे अनुदान पाइन्छ । यसैगरी पुष्प, प्रशोधित मह, अलैंची, प्रशोधित अदुवा, लगायत वस्तु तेस्रो देश निर्यात गरेमा अनुदान पाइन्छ ।

साथै, ११ वटा वस्तुमा ३ प्रतिशत अनुदान दिइएको छ । यसमा स्वदेशी कपडा, तयारी पोसाक, गलैंचा उनीको सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान जुटका उत्पादन, सुन चाँदीका गरगहनाहरु छन्। स्वदेशी अर्ध–प्रशोधित छाला, औषधि, फेल्ट, पोलिष्टर यार्न, फाइवर, भिष्कोर्ष यार्न, एक्रेलिक यार्न, कटन यार्न, तामाका सामान यसमा छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स