काठमाडौं । दशैंमा सुरक्षा व्यवस्थालाई मजवुत बनाउन काठमाडौं उपत्यकामा ७ हजार ७ सय ५८ जना प्रहरी खटाइने भएको छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकामा ७ हजार ७ सय ५८ जना प्रहरी खटाउने तयारी गरेको हो ।
चाडपर्वको बेला झै–झगडा, चोरी, ठगीजस्ता क्रियाकलाप नहुन भनेर सो संख्यामा प्रहरी खटाउन लागेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी गराएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको टोलीसँगै सादा पोशाकमा समेत प्रहरी खटिने जनाइएको छ ।
त्यसैगरी काठमाडौं छिर्ने नाकाहरूमा प्रहरी सहित कुकुरसमेत परिचालन गरिने भएको छ । नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती चेक प्वाईन्ट सहितका केही नाका र व्यापारिक स्थानमा तालिमप्राप्त कुकुर पनि परिचालन प्रहरी कार्यालयले जानकारी दिएको हो ।
मोबाइल गस्ती, पैदल गस्ती, पिकेट, क्यूआरटी, सादा पोशाकका प्रहरीको परिचालन, सीआरभी, सीसीटीभी निगरानी, कट एन्ड सर्च, एम्बुस, रिजर्भ, नियमित चेक प्वाईन्ट ड्यूटी, मापसे चेकिङमा प्रहरी खटाइने छ । उपत्यकाबाट बाहिरिने यात्रुलाई लक्षित गरी १४ स्थानमा यात्रु सहायतत कक्ष र ३५ स्थानमा सवारी जाँचको व्यवस्था गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालका अनुसार पुरानो बसपार्क, सुन्धारा, नागढुंगा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकालीमा यात्रु सहायता कक्ष राखिने छ ।