७ वर्ष उमेरसम्मको बाख्राको बीमा गर्न सकिने गरी आयो संशोधित बाख्रा बीमालेख

काठमाडौं । बीमा समितिले बाख्रा बीमालेखमा संशोधन गरेको छ । समितिले बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरू थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ । कृषकले बाख्रापालन गर्दा १ महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिने छ । बीमा गर्दा बाख्रा स्वस्थ तथा कुनै चोटपटक लागेको हुनुहुदैन ।

बीमा गर्नको लागि बाख्रालाई अनिवार्य खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने भने बीमा गरिएका बाख्रामा क्षति भएमा ३ दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

बाख्रा बीमालेख बमोजिम बीमाङ गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमाङरकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ ।

बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १०० प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था बाख्रा बीमालेखले व्यवस्था गरेको छ ।

बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमा वापत् बीमाशुल्क प्रति बीमित ५ सय बीमाशुल्क बुझाउनुपर्ने र त्यसरी बुझाइएको बीमाशुल्क वापत बीमित बाख्रापालक कृषकको २ लाखको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधित बाख्रा बीमालेखमा रहेको छ ।

बाख्रा बीमा अन्तर्गत भौतिक सम्पत्तिको बीमा गर्दा बीमा समितिबाट जारी सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स