काठमाडौं। नेपाल ल्युब आयलले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै असोज २८ गते शुक्रबार याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजे आफ्नो ३१ औं वार्षिक साधारणसभा पनि डोकेको हो।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्।
सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ। साथै, सभाले आव २०७९/८० को लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको जारी पुँजी ५ करोड थप गरी १० करोड पुर्याउने प्रस्ताव पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।