काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमता बराबरको नदी प्रवाहित जलविद्युत् (आरओआर) आयोजनाहरूको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । आरओआर आयोजनाहरूको विद्युत खरिद–बिक्रीका लागि आफ्नो तर्फबाट सबै अध्ययन सकेर बोर्डमा पेश गरिसकेको बताएका हुन् ।
‘आउँदो बोर्ड बैठकले त्यसबारेमा छलफल गरी निर्णय लिने उनले जानकारी दिए । ‘अब खुल्ने आरओआरको पीपीए क्यू ४० मै डिजाइन हुने गरी खोलिने छ,’ उनले भने ‘ कसैलाई पछि क्यू २५ मा जान इच्छा भए जान सकिने प्रावधान सहति निर्णय हुनेछ ।’
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग भेटी पीपीएको प्रक्रिया कहिलेबाट अघि बढ्छ भन्ने सम्बन्धमा जानकारी गराउन लिखित माग गरेको थियो । त्यसको जवाफमा घिसिङ सचिवालयबाट आरओआर आयोजनाको खरिद–बिक्री सम्झौता १५ दिनपछि खुल्ने जवाफ पठाएका हुन् ।
इप्पानले जलबिद्युत आयोजनाको विकास, सर्वेक्षण एवम् उत्पादन अनुमतिपत्र निर्देशिका तथा बिद्युत खरिद विक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिबेदन, २०७९ ले विगत साढे ३ वर्षदेखि रोकिएको विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुला गर्ने व्यवस्था गरे पनि आजसम्म पीपीए खुला गर्ने प्रक्रिया अघि नबढेपछि इप्पानले यस्तो माग प्राधिकरण समक्ष राखेको हो ।
उक्त प्रतिवेदन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयबाट पारित भएको करिब डेढ महिना भइसकेको छ । तर प्राधिकरणले अहिलेसम्म पीपीएको कार्य सुरु नगर्दा अन्योलताको अवस्था सिर्जना भएको इप्पानको पत्रमा उल्लेख छ । अहिले पीपीएको सम्बन्धमा आफ्ना सदस्य कम्पनीहरूले दैनिक रुपमा जानकारी माग गरे पनि इप्पान नै यस बिषयमा प्रष्ट नभएको हुदा जबाफ दिन नसकिरहेको इप्पानले उल्लेख गरको छ ।
त्यसैले यस किसिमको अन्योलतालाई हटाउन र ऊर्जा उद्यमीहरूलाई मानसिक तनाबबाट मुक्त गर्न पीपीएको प्रक्रिया कहिलेबाट अगाडि बढ्छ भन्ने जानकारी गराइ दिन इप्पानको माग थियो । प्राधिकरणमा इप्पानका संस्था अध्यक्ष कृष्णप्रसाद आचार्य, उपाध्यक्ष गणेश कार्की र मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिबहरू बलराम खतिवडा, सदस्य उत्तम ब्लोन लामाको पहलमा प्राधिकरणले पीपीए खोल्ने तयारी गरेको हो ।