खासामा रोकिएका आठ कन्टेनर नेपाल भित्रिन थाले

सिन्धुपाल्चोक । उत्तरी तातोपानी नाकामा रोकिएका कन्टेनर शनिबारबाट नेपाल भित्रिन थालेको छ । चीनको सिगात्से, न्यालम, खासा, ल्हासामै रोकिएका दसैं–तिहार लक्षित सामग्री लोड भएका कन्टेनर नेपाल भित्रिन थालेको हो ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार शनिबार पाँच र आइतबार तीन कन्टेनर भित्रिएका छन् । त्यसमा लसुन, खुद्रा तथा स्याउ रहेको तर स्याउ बिग्रिसकेका बताइएको छ । कन्टेनरको आवश्यक भन्सार प्रोटोकल र स्वास्थ्य मापदण्ड अपनाएर सम्बन्धित ठाउँमा पठाउने प्रक्रिया धमाधम भइरहेको गौतमले बताए ।

गत साउन २३ गतेदेखि लगाएको लकडाउनले तातोपानी र केरुङ नाका ठप्प थिए । तातोपानी हुँदै आउने डेढ सयभन्दा बढी दसैं लक्षित सामग्री बोकेका चिनियाँ कन्टेनर उतै थन्किएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए ।

परराष्ट्र मन्त्रालयमा आइतबार हिमालपारि व्यापार संघका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स