काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव हुँदा नागरिक लगानी कोष (सीआईटी)मा ८० प्रतिशतले ऋण सापटीको माग बढेको छ । कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिका सम्वन्धी छलफल कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले ऋण सापटी लिनको माग बढेको बताएका हुन् ।
उनले तरलता समस्याको कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि वृद्धि भएको, डिबेन्चर निस्काशनमा वृद्धि हुन थालेको, खुल्ला बजार नीति अनुरुप माग र आपूर्तिको आधारमा ब्याजदर कायम नभएकोे गुनासो राखेका थिए ।
सो अवसरमा उनले १५ भदौसम्मको तथ्याकं अनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैँकिग क्षेत्रमा रहेको जानकारी दिए । २०७९ असार मसान्तसम्म कोषको खुद मौज्दात २ खर्ब १७ अर्ब रुपैयाँ रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि बताए ।
बैकर्सहरूले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोष जस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्यूनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आइएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखेका थिए ।
सो अवसरमा कोष संचालक समितिका अध्यक्ष प्राडा.सूर्य बहादुर थापाले कोष र बैकहरूले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने बताए ।