सन्दीपमाथि लागेको बलात्कार आरोप पुष्टि भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने, क्यानद्वारा निलम्बन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

त्यस्तै, उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।

त्यसैगरि, नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपविरुद्ध बलात्कारको उजुरी परेपछि निलम्बन गर्ने तयारी गरेको छ ।

प्रहरी अनुसन्धानमा सहयोग गर्न र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यही प्रकारको भएका कारण निलम्बन गर्ने तयार गरिएको क्यानका एक अधिकारीले बताए ।

बुधबार लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको छ । मंगलबार साँझ प्रहरी वृत्त गौशालामा आफूमाथि बलात्कार भएको भन्दै एक १७ वर्षीया किशोरीले सन्दीपविरुद्ध जाहेरी दिएकी हुन् ।

प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको सीसी टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।

प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

२२ वर्षीय सन्दीप भदौ ६ गते उनीसहितको टोली क्रिकेट शृंखलाका लागि केन्या प्रस्थान गरेका थिए। त्यहाँ नेपालले पाँच खेलको ट्वान्टी–२०० शृंखला खेलेको थियो । जसको नेतृत्व सन्दीपले गरेका थिए । केन्याबाटै सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स