काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ। बैंकले भदौ १५ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेर छिटोमा आज (भदौ १९ गते)सम्म आवेदन दिन सकिने जनाएको थियो ।
बैंकले गत भदौ १५ गतेबाट २.५ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। मागबमोजिम खरिद आवेदन नपरेपछि यो ऋणपत्रमा भदौ २९ गतेसम्म बिक्री खुला गरिएको धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ भएको ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८६’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइ भने सर्वसाधारणका लागि निष्कासन गरिएको छ। जसमा सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ५० हजार इकाइ छुट्याइएको छ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन पाइनेछ।
७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने छ ।