३ महिना नपुग्दै विद्युत प्राधिकरणले बिजुली बेचेर ६ अर्ब कमायो, थप ६ सय मेगावाट पठाउने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ महिना नपुग्दै बिजुली बेचेर ६ अर्ब कमाएको छ । प्राधिकरणले इण्डियन इनर्जी एक्सचेन्जमा विद्युत बिक्री गरेर करिब ६ अर्ब रुपैयाँ आम्दानी गरेको हो । चालु आवको पहिलो महिना साउनमा करिब २ अर्बको विद्युत निर्यात भएको छ । गत आर्थिक बर्ष २०७८÷७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो। ।

देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत करिब ३ महिना आइएक्सको हे–अहेड बजारमा बिक्री गरेर प्राधिकरणले सो रकम आम्दानी गरेको हो । प्राधिकरणले जेठ १९ गतेबाट विद्युत निर्यात सुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा निर्यातका लागि बाटो खुलेको भन्दै थप ६ सय मेगावाटका आयोजना निर्यातका लागि प्रस्ताव गरिएको बताए । उनका अनुसार माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहितका आयोजनाहरूको विद्युत बिक्रीका लागि स्वीकृति माग गरिएको छ ।

‘प्राधिकरणले प्रस्ताव गरेका कुनै पनि आयोजना अस्वीकृत नभएको भन्दै उनले भने ‘ गत वर्ष करिब ५ सय मेगावाट विद्युत स्पील भएको भएपनि यो वर्ष आन्तरिक माग बढेका कारण स्पीलको अवस्था छैन ।’

गत वर्ष दुईवटा आयोजनाको विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । यो वर्ष पनि जेठ १९ गतेबाट ३८९ मेगावाटबाट निर्यात सुरु गरिएको हो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा निर्यात भइरहेको छ ।
आईएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक–फरक हुने गरेको छ ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ । जसको क्षमता करिव ६०० मेगावाट रहेको छ । यसको स्तरोन्नति गर्न लागिएको छ । त्यसपछि यसले १२ सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्छ ।

भारतसँग १३२ केभीका ७ वटा प्रसारणलाइन जोडिएको उनको बताए । यसले ७०० मेगावाट विद्युत प्रवाह गर्न सक्छ । ती प्रसारणलाइनबाट समेत भारतमा नेपालबाट निर्यात गर्न सकिने घिसिङको दाबी छ । ‘ती प्रसारणलाईनबाट पठाएको विद्युत समेत भारतको केन्द्रिय ग्रीडमा जोडिदिन लागि भारत तयार रहेको छ,’ घिसिङले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स