साउन महिनामा आयात झण्डै १३ र निर्यात २८ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।

यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजारको वस्तु आयात गरेको थियो ।

गत वर्षको साउनमा नेपालले २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा १४ अर्ब ८० करोड ९७ लाखको वस्तु निर्यात गरेको तथ्यांकमा समावेश छ ।

गत साउन महिनामा कूल एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापारघाटा सहेको थियो ।

कूल एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख बराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा मुलुकले एक खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड १६ लाख बराबरको राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स