काठमाडौं । विगत केही दिनदेखि लगातार घट्दै गएको पुँजी बजारमा आइतबार १०८ अंकको गिरावट आएको छ । बजार खुलेको २ घण्टामै नेगेटिभ सर्किट लाग्दै केही समय बजारमा कारोबार पनि बन्द हुन पुग्यो । बजारमा नेगेटिभ सर्किटको सामना नगरेका नयाँ लगानीकर्ता आइतबारको कारोबारलाई देखेर त्रसित भएका छन् ।
धेरै लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सीमामा कडाई गरेकाले बजार घटेको बताउँदै आएका छन् । मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्त कम्पनीबाट ४ करोड रुपैयाँ र अन्य बैंक तथा वित्त कम्पनी समेतगरी बढीमा १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले उक्त नीति जारी गरेदेखि बजार विस्तारै घट्दै थियो । तर आइतबार भने बजार एक सय अंकभन्दा माथिले घटेको छ । पुँजी बजारको प्रकृति नै बढ्ने र घट्ने हुन्छ । बजार घट्यो भन्दैमा निरास हुनु पर्ने स्थिति अझै आइनसकेको पुँजी बजारका जानकारहरु बताउँछन् ।
नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले आइतबार सेयर बजार घट्नुको कुनै खास कारण नभएको बताए । ‘राष्ट्रको नीतिले बजारलाई प्रभाव पारेको होइन,’ उनले भने ‘बजार भनेकै यस्तै हो अर्थात बजारको प्रकृति नै यस्तै हो । बजार घट्दैमा आतिनु पर्दैन । भोलि यही ट्रेन नरहन पनि सक्छ ।’ पहिला पनि यस्तो धेरै पटक भएको छ । आज घट्यो भोलि बजार बढ्न सक्ने प्रवक्ता गिरी बताउँछन् ।
सेयर धितो कर्जाबाट नेपालको अर्थतन्त्रले लाभ लिन नसकेको नेपाल राष्ट्र बैंकका पूर्व गभर्रनर दिपेन्द्रबहादुर क्षेत्री बताउँछन् ।
‘कति नेपालीले बैंकबाट ४ करोड ऋण लिएका छन् । सेयर धितोबाट १२ करोडसम्मको ऋण लिने सुविधा दिइएको छ,’ क्षेत्रीले भने, ‘यो सिमाले कसैलाई मर्का गरेको छैन ।’
सेयर बजारको प्रकृति हेर्दा पनि बजारमा लगानी योग्य पुँजी धेरै हुँदा बढ्छ । बैंकको ब्याजदर सस्तो हुँदा कर्जा लिएर पनि लगानी गर्छन् । रकमको अभाव भयो भने लगानी गर्दैन । अधिकतमले बचतबाटै सेयर बजारमा लगानी गरेका हुन्छन् । सेयर कर्जाबाट सीमित व्यक्ति तथा संस्थाले लाभ लिइरहेका छन् । यसलाई कडाई गर्नु पुँजी बजार तथा अर्थतन्त्रका लागि दिर्घकालिन रुपमा सकारात्मक हुने उनको बुझाइ छ ।
सेयर बजारले अर्थतन्त्रलाई दिएको भने राजस्व हो । सरकारी कोषमा जम्मा भएको राजस्व खर्च हुन नसकेर लगानी योग्य पुँजीको अभाव हुने गरेको छ । यस्तो अवस्थमा सेयर धितोकर्ताको सिमा घटाउनु सकारात्मक भएको उनको भनाइ छ।
त्यसको ठाउँमा प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरिएको भए देशको ब्यापार घाटा घट्नुका साथै राष्ट्र आर्थिक रुपमा सम्पन्न हुने उनी बताउँछन् ।
सेयर बजारको प्रकृति नै बढ्ने र घट्ने हुने स्वतन्त्र सेयर लगानीकर्ता नरेन्द्रमान श्रेष्ठ बताउँछन् ।
‘पछिल्लो केही सातादेखि बजार घटिरहेको छ,’ श्रेष्ठले भने, ‘लगानीकर्ताहरु केही डरएका हुन् कि भन्ने आभास भएको छ ।’
यस्तोमा लगानीकर्ताहरु केही चनाखो हुनु पर्ने श्रेष्ठको धारणा छ ।
राष्ट्र बैंकको सेयर धितो कर्जा सम्बन्धी व्यवस्थाका कारण ठूला लगानीकर्ताले खरिद गर्न छोडेको हो कि भन्ने आशंका छ । बजारलाई सीमित व्यक्तिले मात्र नियन्त्रण गर्न सक्दैन । सस्तोमा सेयर किन्नका लागि पनि बजार घटाउने गरिन्छ । नयाँ लगानीकर्ताहरुले सेयर बजारको यो फण्डा बुझेका हुँदैन । त्यसैले अहिले नै हात्तिएर सेयर बेच्नु भन्दा पनि केही समय होल्ड गर्न उनी सुझाव दिन्छन् ।
बजार घट्दा पनि १० अर्ब माथिको कारोबार भइरहेको छ । यसले पनि बजारमा सेयर खरिद गर्नेको कमि नभएको देखाउँछ । आज घट्दो बजारमा सेयर खरिद गर्नेलाई भोलि महँगो मूल्यमा बिक्री गरेर नाफा कमाउँछन् । यो समयमा लगानीकर्ताले ध्यर्य गुमाउन नहुने उनको विचार छ ।
सेयर धितो कर्जा सम्बन्धी नेपाल राष्ट्र बैंकको नीति अदुदर्शी नीतिका कारण बजार घटेको सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलको आरोप छ । राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी नीति जारी गर्नु अघि सेयर बजार ३२ सयमाथि पुगेको थियो । अहिले बजार घटेर २८ सयमा झरेको छ । मौद्रिक नीति पश्चात बजार ४ सय अंकले घटेको छ । लगानीकर्ताले खर्बौ रुपैयाँ गुमाएका छन । यसको जिम्मेवारी राष्ट्र बैंकले लिनु पर्ने फुल्लेल बताउँछन् ।
‘पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने सरकारी नीति छ । राष्ट्र बैंक सरकारी नीति विरुद्ध गएको छ । लगानीकर्ताले सानो पुँजी जुटाएर सेयरमा लगानी गरेका हुन्छन्,’ फुल्लेलले भने, ‘नेपालको पुँजी बजारमा पनि अन्तर्राष्ट्रिय बजार जस्तो ठूलो हुने आशमा लगानीकर्ता छन् ।’ तर राष्ट्र बैंकभने जनताको पुँजी खरानी पार्ने अभियानमा लागेको उनको दावी छ ।
राष्ट्रको नीति पुनारवलोकन गराउन लगानीकर्ताहरुले आन्दोलन शुरु गरिसकेका छन् ।
एक दिन बजार घट्दैमा आत्ति हाल्नुपर्ने स्थिति नआउँने एक ब्रोकर बताउँछन् । ‘पछिल्लो एक वर्षमा बजार निकै बढेको थियो । सँधै बजार बढी रहन्छ भन्ने हुँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा ती ब्रोकर भन्छन्, ‘समयसमयमा बजारमा करेक्सन भइरहन्छ ।’ आज घटेको बजार फेरी बढ्ने सम्भावना रहेको उनी बताउँछन् ।
अहिले राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी व्यवस्था गरेको नीतिका कारण बजार घटेको बताइन्छ । त्यो पनि एउटा कारण हुन सक्छ । ‘लकडाउन खुकुलो भएको धेरै समय भइसकेको छ । लकडाउनको समयमा अन्य क्षेत्रका लगानीकर्ताले पनि सेयर बजारमा आएका थिए,’ ब्रोकरले भने, ‘अन्य व्यापार व्यवसाय विस्तारै चलायमान हुन थालेको छ । अब चाडपर्व पनि नजिकिदैछ ।’
उनीहरुले सेयरमा गरेको लगानी बिक्री गरेर पुरानै व्यवसायमा थप गर्न शुरु गरेका छन् । पहिला निकै सस्तोमा किनेको घट्दो बजारमा बिक्री गर्दा पनि उनीहरुलाई घाटा छैन । बजार घट्दा भर्खर बजारमा छिरेका नयाँ लगानीकर्तामा भने पक्कै त्रास देखिएको उनी बताउँछन् ।
अझै पूर्ण रुपमामा नयाँ लगानीका क्षेत्र सञ्चालनमा आइनसकेकाले अहिलै घाटा खाएर बजारबाट बाहिरिनुपर्ने अवस्था नभएको उनको बुझाइ छ ।