यो साता दुई कम्पनीको आइपीओ आउदै, कुनको कति ?

काठमाडौं । यो साता दुई कम्पनीले आइपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । इष्टर्न हाइड्रोपावर लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्थाले यसै साता आइपीओ निष्कासन गर्ने भएको हो ।

जसअनुसार, इष्टर्न हाइड्रोपावरले मंगलबार (भदौ ७ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको प्रतिकित्ता एक सय अंकित दरमा ६ करोड २० लाख मूल्य बराबरको ६ लाख २० हजार कित्ता सेयर बिक्री खुल्ला गर्न लागेको हो ।

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाले बुधबार (भदौ ८ गते) देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले चुक्ता पूँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्नेछ ।

जस मध्ये २ हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ भने ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १३ सय २० कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले भदौ १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स