काठमाडौं । आइतबार सेयर कारोबार शुरु भएको पहिलो २ घण्टामै कारोबार बन्द भएको थियो । सेयर बजारमा उच्च गिरावट आएकाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबार रोकेको हो ।
सेयर बजारलाई बहकिन नदिन नेप्सेले बजारमा पोजेटिभ वा नेगेटिभ दुवै सर्किट लाग्दा कारोबार रोक्ने गर्छ । आज कारोबार शुरु भएको २ घण्टामै नेप्सेमा ५ प्रतिशतको नेगेटिभ सर्किट लाग्यो । लगानीकर्ताले धेरै नोक्सानी ब्यर्होनु नपरोस भनेर नेप्सेले कानुनी प्रावधान अनुसार सेयर कारोबार केही समयका लागि रोकेको हो ।
सेयर बजारको अस्वभाविक उतार चढावले लगानीकर्ताको उच्च नाफा वा नोक्सानी नहोस् भन्नका लागि नेप्सेले केही समयका लागि कारोबार रोक्ने गर्छ । यसलाई सर्किट ब्रेक भनिन्छ । नेप्से पोजेटिभ वा नेगेटिभ भएको खण्डमा यस्तो सर्किट ब्रेक लगाइन्छ ।
नेप्सेले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी नयाँ व्यवस्था लागू गरेको थियो । जस अनुसार एक कारोबार दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाइने व्यवस्था छ ।
उक्त व्यवस्था अनुसार कारोबार दिनको पहिलो १ घण्टा (११ बजेदेखि १२ बजे)भित्र नेप्से परिसूचक ४ प्रतिशतले बढ्यो वा घट्यो भने सर्किट ब्रेक लाग्छ । पहिलो घण्टाको सर्किट ब्रेक लाग्दा बजारमा २० मिनेटसम्म कारोबार बन्द गरिन्छ ।
दोस्रो सर्किट ब्रेक दोस्रो घण्टा (१२ देखि १ बजेसम्म)को कारोबारको आधारमा लगाइन्छ । उक्त समय अवधिभित्र नेप्से परिसुचक ५ प्रतिशतले घट्यो वा बढ्यो भन्ने सर्किट ब्रेक लगाइन्छ । यो सर्किट ब्रेक ४० मिनेटसम्म कायम हुन्छ ।
यसैगरी दोस्रो सर्किटपछि पनि नेप्सेमा घट बढको क्रम रोकिएन भने तेस्रो सर्किट ब्रेक प्रयोगमा ल्याइन्छ । नेप्से ६ प्रतिशतले घटे वा बढेको खण्डमा तेस्रो सर्किट ब्रेक लगाइन्छ । तेस्रो पटकको सर्किट ब्रेकबाट उक्त दिनको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ बजार खुलेको तेस्रो घण्टाभित्र वा त्यसपछिको अवधिमा दिउँसो १ बजेदेखि ३ बजेसम्मको बीचमा जुनसुकै समयमा नेप्से सूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइन्छ ।
यसरी सर्किट ब्रेक लगाउँदा बजारलाई कुलडाउन गर्न सकिने मान्यता छ ।
Buying and selling common stock exchange