काठमाडौं । साउनयता दिन प्रतिदिन बैंकमा रहेको निक्षेप घट्दो क्रममा रहेको छ । सञ्चालनमा रहेका २६ वाणिज्य बैंकबाट साउनको २७ दिनमै वाणिज्य बैंकहरूबाट १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप बाहिरिएकोे छ । निक्षेप बाहिरिदा बैंकहरू कर्जा प्रवाह गर्न सक्ने अवस्था देखिएनन् । साउन २७ गतेसम्मको यो अवधिमा बैंकबाट कर्जा प्रवाह नै नभएको संघको तथ्यांकले देखाएको छ ।
साउन पहिलो साता बैंकहरूले कुल ४१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । साउन २७ मा आईपुग्दा बैंकहरूको सो कर्जा बढ्न सकेको छैन । अझ साउन १ देखि ४ गतेसम्म १० अर्ब कर्जा घटेर ४१ अर्ब ६५ करोडमा सीमित भएको थियो ।
त्यसको पछिल्लो साता ४ देखि १३ गतेसम्म १ अर्बले कर्जा घटेर ४१ अर्ब ६४ करोडमा सीमित भयो । साउन २० मा सो कर्जा २ अर्बले बढ्यो भने साउन २७ गते आईपुग्दा कर्जा असार ३० गतेको तथ्यांकमा पुगेको छ । साउनबीचमा कर्जा प्रवाह भएको तथ्यांक घटेपनि साउन २७ गते पुनः कर्जा प्रवाह बढेर ४१ खर्ब २७ अर्ब पुगेको छ ।
वाणिज्य बैंकहरूमा गत असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । साउन २७ गतेसम्म आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँमा घटेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
गत असार मसान्तसम्म मौज्दात कुल निक्षेपमा साउनको पहिलो साता ६३ अर्ब रुपैयाँ, दोस्रो साता ९१ अर्ब रुपैयाँ, तेस्रो साता ९५ अर्ब रुपैयाँ र चौथो साताको २७ गतेसम्म १ खर्ब २० अर्ब रुपैयाँले निक्षेप वाणिज्य बैंकबाट बाहिरिएको हो । पछिल्लो ७ दिनमै २५ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।
बैंकहरुमा निक्षेप घटेपनि नयाँ थप कर्जा विस्तार गर्दा वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेको छ । साउन २७ गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८८.३५ प्रतिशत छ । वाणिज्य बैंकहरुको औषत सीसी रेसियो गत असार मसान्तसम्म ८६.४१ प्रतिशत, साउन ६ गतेसम्म ८७.७५ प्रतिशत, साउन १३ गतेसम्म ८७.९८ प्रतिशत र साउन २० गतेसम्म ८७.६९ प्रतिशत कायम थियो ।