काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई कर भुक्तानीमा अनिवार्य ‘ई–टीडीएस रिटर्न’ पेश गरी भेरिफाइ गर्न आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै विभागले आयकर ऐन २०५८ को परिच्छेद १७ बमोजिम कर भुक्तानी गरी ‘ई–टीडीएस रिटर्न’ पेश गरी भेरिफाइ गर्न सम्पूर्ण करदातालाई आग्रह गरेको हो ।
नेपालमा स्रोत परिचालन गरे वापत अर्थात आय गरे वापत अग्रिम कर कट्टी गर्ने कानुनी प्रावधान छ । रोजगारीबाट प्राप्त आय, ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिसन, अवकाश भुक्तानी लगायत अन्य प्रतिफल वा रकम भुक्तानी गर्दा तोकिए बमोजिम कर कट्टी गरी विद्युतीय माध्यमबाट ई–टीडीएस रिटर्न पेश गरी भेरिफाइ गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही अनुरुप विभागले आम करदातालाई यस्तो सूचना जारी गरेको हो ।
‘यसले गर्दा आय विवरण पेश गर्न करदातालाई झन्झट सिर्जना भएको छ । तसर्थ भुक्तानी गर्दा स्रोतमा कट्टी गरी दाखिला गरिएको करको विवरण, भुक्तानी गरिएको अवधि, राजस्व शीर्षक नम्बर, सम्बन्धित करदाताको स्थायी लेखा नम्बर आदि विवरणहरु समावेश गरी तोकिएको ढाँचामा ई–टीडीएस रिटर्न पेश गरी भेरिफाइ गर्नु÷गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ,’ विभागको सूचनामा उल्लेख छ ।
तर, कतिपय सरकारी निकाय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, निजी क्षेत्रका संघसंस्थाले तोकिए बमोजिम कर कट्टी गरे गरेपनि सरकारी ढाँचामा ई–टीडीएस रिटर्न पेश गरी भेरिफाइ नगरेको विभागले जनाएको छ ।