काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा इन्स्योरेन्सले नोक्सानी व्यहोरेको छ।
कम्पनीले समीक्षा अवधिसम्ममा ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।
समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ७ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।
यो अवधिमा कम्पनीले १४ अर्ब १६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ६१.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.३० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.७५ रुपैयाँ रहेको थियो। पीई रेसियो १७३.८२ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.२९ रुपैयाँ रहेको छ।