वाणिज्य बैंकहरूले सरकारलाई तिरे साढे ३१ अर्ब कर, कुन बैंकको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले सरकारलाई ३१ अर्ब ४७ करोड रुपैयाँ कर तिरेका छन् । वाणिज्य बैंकहरूको गत आर्थिक वर्षमा कर तिर्नुअघि १ खर्ब ६ अर्ब २७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेका थिए । सरकारलाई कर भुक्तान गरिसकेपछि बैंकहरूको यस्तो कमाइ ७४ अर्ब ८० करोड १४ लाख रुपैयाँ रहेको छ ।

बैंकहरूले गत आवमा सरकारलाई तिरेको कर अघिल्लो आर्थिक वर्षको भन्दा १५ प्रतिशतले बढी हो । बैंकहरूले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई २७ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ कर तिरेका थिए । उक्त आवमा बैंकहरूको कर तिर्नुअघिको कमाइ ८९ अर्ब ९२ करोड रुपैयाँ थियो । कर भुक्तान गरेपछि बैंकको कमाइ ६२ अर्ब ५५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको थियो । बैंकहरूले सरकारलाई ३० प्रतिशत कर्पोरेट कर तिर्नुपर्ने व्यवस्था छ ।

कुन बैंकले कति तिरे कर ?
गत आर्थिक वर्षमा तीन बैंकले सरकारलाई २ अर्बभन्दा बढी कर तिरेका छन् भने ३ बैंकले २ अर्बभन्दा कम र डेढ अर्बभन्दा बढी आयकर सरकारलाई तिरेका छन् । ९ बैंकले १ अर्ब र डेढ अर्ब रुपैयाँको बीचमा सरकारलाई कर तिरेका छन् भने बाँकी ११ बैंकले अर्ब भन्दा कम कर तिरेका छन् ।

गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले सरकारलाई सबैभन्दा बढी कर तिरेको छ । बैंकले २ अर्ब २३ करोड कर तिरेर कर बढी तिर्ने बैंक बनेको छ । बैंकको कर अघिको आम्दानी ७ अर्ब ४४ करोड रुपैयाँ थियो । कर भुक्तान गरेपछि उसको आम्दानी ५ अर्ब २१ करोड कायम रहेको छ । सरकारलाई बढी कर तिर्ने अर्को बैंक ग्लोबल आईएमई बैंक हो भने तेस्रो बैंकमा नबिल बैंक परेको छ ।

यो अवधिमा सबैभन्दा कम सेन्चुरी बैंकले तिरेको छ । बैंकले ५८ करोड १९ लाख रुपैयाँ कर तिरेको हो । सिभिल र लक्ष्मी बैंक पनि सरकारलाई कम कर तिर्ने बैंकमा परेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स