लगानीकर्ताको करिब ३० खर्ब सम्पत्ति निजी कम्पनीको मुठ्ठीमा, मिसयुज भए बिल्लीबाठ

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले सुरु गरेको झन्डै ५ वर्ष भएको छ । ५ वर्षको यो समयमा पनि नेप्से एक्लैले संस्थागत रुपमा यो प्रणाली सञ्चालन गर्न सक्ने अवस्था सिर्जना हुन सकेको छैन । जसको फलस्वरुप लगानीकर्ताको करिब ३० खर्बको पुँजी निजी कम्पनीका केहि व्यक्तिको मुठ्ठीमा परे छ ।

२०७५ साल कार्तिकमा उद्घाटन गर्दा नै त्यहि दिनदेखि समस्या देखिएको अनलाइन प्रणाली आज ५ वर्ष बितिसक्दा पनि अझै चुस्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप हुन सकिरहेको छैन भने सिष्टममा अझै पनि धेरै समस्या विद्यमान रहेका छन् ।
जसले गर्दा लगानीकर्ता पटक पटक हैरानी खेपिरहेको छन् । सेयर बजारमा तिव्र उतारचढाव आउँदा‘ बाई सेल’ को अडर नलिने र कहिले केहि ब्रोकरको मात्रै डाटा सेन्टर चलेर अधिकांश ब्रोकरको डाटा सेन्टर नै नचल्ने त्यो समस्या बेला बखत आइनै रहेको छ ।

ठूलो कित्ताको कारोबारहरू कुन व्यक्तिले बिक्री गर्यो र कुन व्यक्ति खरिद गर्यो भन्नेसम्मका सूचना स्वयम टीएमएस सञ्चालनमा रहेका व्यक्तिहरूबाटै चुवाहट हुने गरेको भन्नेसम्म हल्ला बजारमा चलिरहेको पाइन्छ । सेयरको ठूलो मात्रा कुन व्यक्ति वा समूहले किन्दै र कुन व्यक्ति वा समूहले बिक्री गर्दैछ भन्ने गोप्य सूचना समेत पहुँचावाला ठूला कारोबारीहरूले पाइरहेको बुझिएको छ ।

यस्तो सम्वेदशील विषयमा यति खेलाचीपूर्ण सुरक्षा हुनु नियामक निकायमाथिको प्रश्न चिन्ह पनि हो । बेला बखत ‘बाई’ अडर राखिसके पश्चात सिष्टममा समस्या देखाइ घट्दो बजार छ भने खरिद गर्न बसेकालाई बेचिसकेपछि सिष्टम सूचारु हुने र बढ्दो बजार छ भने बेच्न बसेकाहरूको खरिद गरिसकेपछि सिष्टम सुचारु हुने गरेको छ । यसले यदाकदा समस्या उत्पन्न गरी अडर परिवर्तन नै गर्न नमिल्ने त्यस्तो समस्या समेत सिर्जना गरिएको छ । जसले नेपाल स्टक एक्चेन्जको कारोबार प्रति नै शंका उत्पन्न गर्दछ ।

यो किसिमको लापरवाही भनेको लगानीकर्ताहरूको सम्पत्तिमाथिको खेलबाड हो । कुनै एक कम्पनीलाई निरन्तर रुपमा सूचनाको अधिकारहरू सुम्पनु भनेको गैर कानुनी पनि हो ।

नेप्सेले सेयर कारोबार गर्ने सम्पूर्ण लगानीकर्ताको अतिनै गोप्य राख्नु पर्ने तथ्यांक ‘वाईको’ नामक निजी कम्पनीको केहि कर्मचारीको हातमा सुम्पिएको छ । सेयर बजार कारोबार गर्ने प्रणालीको अधिकांश काम ‘वाईको’ नामक निजी कम्पनीले गर्दै आएको छ । सेयर कारोबार गर्ने क्रममा व्यक्तिगत विवरणदेखि व्यक्ति व्यक्तिको ठूलो पुँजीको तथ्यांक निजी कम्पनीको भरमा चलेको छ ।

नेप्सेले २०७५ कात्तिक २० बाट नट्स सिष्टम सुचारु गरेको थियो । नट्स सुचारु भएको वर्ष सम्पूर्ण सिष्टमनै ‘भेन्डर’ आफैले सञ्चालन गरेपनि वर्ष बित्दै जाँदा नेप्सेका उसको कर्मचारी घट्दै र नेप्सेका कर्मचारीले सिष्टम सम्हाल्दै गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

‘हामीले सूचना गोप्य राख्ने भनेर भेन्डरसँग पहिला नै सम्झौता गरेका हुन्छौं,’ उनले भने ‘यस्ता कुरा बाहिर आउँदैन र मिसयूज पनि हुँदैन । हामी यसमा ढुक्क छौं ।’

नट्स जडान गर्दा १०÷१२ जना वाईको कै कर्मचारी थिए । अहिले तीन जनाले मात्रै विशेष काम गर्छन सिष्टमको अन्य काम सबै नेप्सेकै आईटी इन्जिनियर पढेका कर्मचारीले गर्ने गरेको समेत प्रवक्ता पराजुलीले जानकारी गराए ।

हाल नेप्सेमा २२० कम्पनीको सेयर कारोबार भइरहेको छ । सो कारोबारबाट दैनिक ४/५ अर्बको सेयर किनबेच भएको नेप्सेको तथ्यांकले देखाएको छ । सेयर किनबेचदेखि प्रणाली सञ्चालन गर्न गर्नुपर्ने सबै काम वाईकोले गर्दै आएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स